मधेशः मोटरसाइकल चोरी गर्ने चार जना पक्राउ


पर्सा । प्रहरीले मोटरसाइकल चोरी गरेको अभियोगमा ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका-२६ ठेगाना भएका २० वर्षीय राम प्रवेश पटेल, २६ वर्षीय अशोक पटेल, भारत बिहार पुर्वी चम्पारण रतनपुर ठेगाना भएका १९ वर्षीय शिवम पाण्डे र वीरगञ्ज महानगरपालिका-२४ ठेगाना भएका २० वर्षीय आकाश तिवारी रहेका छन् ।

वीरगञ्ज महानगरपालिका-८ स्थित पार्किङ गरी राखेको धोबिनी गाउँपालिका-४ लंगडी बस्ने रामबाबु कुमार गुप्ताको प्र.२-०३-००७ प १७६६ नम्बरको मोटरसाइकलमा मास्टर साँचोको प्रयोग गरी राम प्रवेशले चोरी गरी लाँदै गरेको अवस्थामा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो ।

साथै थप अनुसन्धानको क्रममा उनीहरूले बिभिन्न मिति र स्थानबाट अन्य मोटरसाइकलहरू समेत चोरी गरेको खुल्न आएपछि उनीहरूले चोरी गरेको ना.५२ प ५०२४, ना.२७ प ७८४७, ना.११ प ११२१, ना.५३ प ७१०६, ना.३७ प ९८१८, ना.४६ प ८६२७ र प्र.०३-००८ प ७१८६ नम्बरको मोटरसाइकलहरू बरामद गरी उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरू उपर चोरी सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ । सप्तरी, राजबिराज नगरपालिका ११ बस्ने शुभ नारायण शर्माको को.३० प ८११२ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा सोही नगरपालिका ४ बस्ने २२ वर्षीय सोनु सेखलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

पुस ६ गते राति उनको मोटरसाइकल हराएको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा नम्बर प्लेट परिवर्तन गरी ल्याएको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७९ पुष १२, मंगलवार १४:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ