माधव नेपाललाई भेटेर महेश बस्नेतले भने- एमालेमै फर्किनुस्


काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल भेट्न एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेत पुगेका छन्। अध्यक्ष नेपाल निवास कोटेश्वरमा भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा नेता बस्नेतले अध्यक्ष नेपाललाई एमालेमै फर्किन आग्रह गरेको बताए । उनले भने, ‘मैले उहाँलाई अब पार्टीमा फर्किन आग्रह गरेको छु । उहाँले सकारात्मक नै हुनुहुन्छ। तर, गठबन्धनबाट प्रचण्ड एक्लै बालकोट पुगेकोप्रति उहाँको चित्तदुखाइ पाए ।’

https://www.youtube.com/watch?v=29XBYRNv9G8&t=5s

अध्यक्ष नेपालसँगको भेटवार्तामा नेकपा एसका सचिव मेटमणि चौधरी पनि थिए । कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै नछाड्ने अडान कसेपछि प्रचण्ड पाँच दलीय गठबन्धन टुटाएर आइतबार नै एमालेसहित ७ दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भइसकेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड एक ठाउँमा उभिएपछि अध्यक्ष नेपाललाई पनि फर्काउने प्रयास भइरहेको छ। त्यही बीचमा आज बिहान पनि प्रचण्डले आफू नेतृत्वको सरकारमा आउन अध्यक्ष नेपाललाई आग्रह गरिसकेका छन् ।

सरकारमा मात्रै नभएर एमालेका कतिपय नेताहरूले नेपाललाई पार्टीमा फर्काउने प्रयास गरिरहेका छन् । मङ्गलवार साँझ उपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलले अध्यक्ष नेपाल भेट्न कोटेश्वर पुगेका थिए ।

यसअघि उपमहासचिव पृथ्वी सुब्बा गुरुङले पनि नेपाललाई भेटेर एमालेमा फर्किन आग्रह गरेका थिए। सुवास नेम्वाङदेखि महेश बस्नेतसम्मका नेताहरू माधव नेपालसँग संवादमा छन् । अहिले एमाले नेताहरूले ओली र माधव नेपालबीच भेटवार्ताको माहौल बनाउने प्रयास गरिरहेका छन् ।

प्रकाशित : २०७९ पुष १३, बुधबार १४:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ