सप्तरीमा बालुवामा लुकाएको ८१० किलो गाँजा बरामद


राजविराज । सप्तरी प्रहरीले कोसी नदीको टापुमा बालुवा खनेर पुरिएको अवस्थामा ८ सय १० किलो लागूऔषध गाँजा बरामद गरेको छ ।

बिहीबार राति प्रहरीले हनुमाननगर कंकालिनी नगरपालिका १ कोसी टापुस्थित एकान्त ठाउँमा खाल्डो खनी पुरिएको अवस्थामा गाँजा बरामद गरेको सप्तरी प्रहरी प्रमुख एसपी अभिनारायण काफ्लेले जनाए ।

कोसी ब्यारेजस्थित गोलघरबाट ५ सय मिटर उत्तर खाल्डो खनी गाँजा पुरिएको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रमोद खड्का नेतृत्वको टोलीले शंकास्पद स्थानमा खन्दा ३० किलो दरले प्याक गरिएको १२ बोरा, दोस्रो स्थानमा खन्दा ९ बोरा र तेस्रो स्थानमा खन्दा ६ बोरा गरी २७ बोरा गाँजा बरामद गरेको एसपी काफ्लेले जनाए ।

बेवारिसे अवस्थामा फेला परेको गाँजाबारे अनुसन्धान भइरहेको काफ्लेले बताए । सप्तरीको कोसी ब्यारेज नेपालबाट भारततर्फ गाँजा तस्करीको ट्रान्जिट प्वाइन्ट बन्दै गएको छ ।

पहाडी जिल्लाबाट कोसी ब्यारेज गाँजा पुर्‍याइने र त्यहाँबाट स्थलमार्ग तथा जलमार्ग हुँदै गाँजा भारततर्फ तस्करी हुने गरेको छ । बेलाबखत प्रहरीले कोसी ब्यारेज क्षेत्रबाट ठूलो परिमाणमा गाँजा नियन्त्रणमा लिने गरेको भए पनि कारोबारी भने पक्राउ परेको छैन ।

प्रकाशित : २०७९ पुष १६, शनिबार ०९:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ