जसपाका रौतहट जिल्ला सचिव यादव आम जनता पार्टीमा प्रवेश


काठमाडौं । जनता समाजवादी पार्टी नेपालका रौतहट जिल्ला सचिव लखिन्द्र यादव प्रभु साह नेतृत्वको नवगठित आम जनता पार्टीमा प्रवेश गरेका छन् ।

आइतबार आजपा अध्यक्ष प्रभु साहले आफ्नो निवासमा यादवलाई माला लगाई पार्टीमा प्रवेश गराएको प्रचारप्रसार विभाग उपप्रमुख निवेश यादवले जानकारी दिए ।

सचिव यादवसहित जसपाका प्रभावशाली नेता सर्जुग राय यादव र लालबाबु राय यादव पनि आजपा प्रवेश गरेका छन् । यही पुस ६ गते यादवलाई जसपाले जिल्ला सचिवको जिम्मेवारी दिएको थियो ।

हालै सम्पन्न प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको वेला जसपाका जिल्ला अध्यक्ष धर्मेन्द्र पटेल अधिकांश जिल्ला सदस्यसहित साह नेतृत्वको स्वतन्त्र उम्मेदवार जिताउ अभियानमा प्रवेश गरेका थिए ।

गत बिहीबारमात्र स्वतन्त्र सांसद एवम् पूर्वमन्त्री साहले आम जनता पार्टी गठन गरेका थिए । पार्टी घोषणासँगै साहले पार्टीको संगठन विस्तार अगाडि बढाएका छन् । पार्टी घोषणाकै दिन प्रदेशको अध्यक्ष र इन्चार्ज तथा जनवर्गीय संगठन र विभाग प्रमुखहरुको चयन गरेका थिए ।

आज अध्यक्ष साहले सर्कुलर जारी गरी मधेस प्रदेशका आठ वटै जिल्लाका अध्यक्ष, सचिव र इन्चार्जको जिम्मेवारी तोकेका छन् ।

जसपाका तत्कालीन जिल्ला अध्यक्ष पटेलले आजपा जिल्ला अध्यक्षको जिम्मेवारी पाएकै दिन जसपाका बहालवाला जिल्ला सचिव आजपा प्रवेश गरेका हुन् ।

प्रकाशित : २०७९ पुष १७, आईतवार २०:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ