जसपा सरकारबाट बाहिर ! यादव भन्छन्- भागबण्डामा हामीलाई उपेक्षा गरियो


काठमाडौं । प्रचण्ड नेतृत्वको सरकारमा आफूहरूले चित्तबुझ्दो भाग नपाएको भन्दै जनता समाजवादी पार्टी असन्तुष्ट बनेको छ । आफ्नो पार्टी अहिले सरकारमा सहभागी नहुने अध्यक्ष उपेन्द्र यादवले बताएका छन् ।

अध्यक्ष यादवले जसपालाई सरकारमा उपेक्षा गर्न खोजिएको गुनासो गरे । हिजो बसेको सत्तारुढ दलहरूको बैठकले आफूहरूलाई सम्मानित व्यवहार नगरिएको उनको भनाइ छ ।

‘अब सबै प्रचण्डमाथि निर्भर छ,’ यादवले भने, ‘हामीसँग कुनै समझदारी भएको छैन । तत्काल हामी सरकारमा सहभागी हुँदैनौ ।’ हिजोको बैठकमा जसपालाई दुईवटा मन्त्रालय दिने अफर गरिएको थियो । त्यो पनि अरूले रोजेर बाँकी बसेको मन्त्रालय दिन खोजिएको यादवले बताए ।

उनले थपे, ‘राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राजनीतिक नियुक्तिहरू, संवैधानिक नियुक्तिहरू लगायतका विषयमा छलफल हुनुपर्‍यो,। प्याकेजमै सहमति हुनुपर्‍यो भन्ने हाम्रो माग हो । दोस्रो कुरा मन्त्रालयको बाँडफाँटमा पनि जसपालाई उपेक्षा गर्ने काम भयो । त्यसैले जसपा कसैको टाङमुनि छिरेर सरकारमा जाँदैन ।’

हिजोको बैठकमा यादवले राप्रपा बराबर तीनवटा मन्त्रालय पाउनुपर्ने माग गरेका थिए । साथै, उपराष्ट्रपति लगायतका संवैधानिक पदहरूमा पनि आफूहरूलाई भाग दिनुपर्ने उनको माग थियो । तर, नेताहरू त्यसमा सहमत नभएपछि यादव असन्तुष्ट भएर हिँडेका थिए ।

यदि सरकारमा सहभागी हुन नपाए प्रचण्डलाई दिएको समर्थन जसपाले फिर्ता लिन्छ ? भन्ने प्रश्नमा यादवले भने, ‘त्यतातिर अहिले हामी नजाऊँ ? अहिले हामी सरकारमा जाने अवस्था रहेन, कुरा यत्ति हो । हामीलाई यसमा दुख पनि छैन ।’ सरकारमा जाने ढोका पूर्णरुपमा बन्द भने नभएको उनले बताए ।

प्रकाशित : २०७९ माघ ३, मंगलवार १०:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ