मधेस आन्दोलनको १६ वर्ष : प्रथम शहिद रमेश महतोको सम्झनामा बलिदानी दिवस मनाइँदै


सिरहा । पहिलो मधेस आन्दोलनको माघ ५ गते अर्थात् आज १६ वर्ष पूरा भएको छ । स्वायत्त मधेस एक प्रदेश, आत्मनिर्णयको अधिकार, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र लगायतका अधिकार प्राप्तिका लागि १६ वर्ष अगाडी मधेसी जनताले आन्दोलनको विगुल फुकेका थिए । जुन आन्दोलन १९ दिनसम्म चलेको थियो ।

मधेसमा अधिकारका लागि पटक पटक गरी तीन पटक आन्दोलन भयो । तीन वटै मधेस आन्दोलनमा गरी जम्मा १ सय ३ जनाले शहादत प्राप्त गरे । मधेस आन्दोलनकै बलमा प्रदेशको नामाकरण मधेश प्रदेश भएको छ । यद्यपि आन्दोलन जति पुराने हुँदै गयो, आन्दोलनको विरासत पनि कमजोर हुँदै गएको देखिन्छ ।

तर मधेस आन्दोलनको सम्झनालाई ताजा राख्नका लागि प्रत्येक वर्ष यो दिनलाई बलिदानी दिवसको रुपमा मनाइदै आएको छ । सोही अवसर पारेर मधेस सरकार र मधेश केन्द्रीत दलहरुले बलिदानी दिवस मनाउन लागेको छ । मधेश सरकारले शहिद परिवारहरुको अवस्था देखेर २५ हजारदेखि २ लाख रुपैयाँसम्म आर्थिक सहयोग समेत गर्ने निर्णय गरेको छ ।

बलिदानी दिवसको अवसरमा लहानमा विशेष कार्यक्रम गरिन्छ । लहान मधेश आन्दोलनको उद्गम स्थल मानिन्छ । यहाँ पहिलो मधेश आन्दोलनमा रमेश महतो शहिद भएका थिए । उनी मधेश आन्दोलनको पहिलो शहिद छन् । उनी सहादत प्राप्त गरेकै दिन माघ ५ गते बलिदानी दिवस मनाइन्छ । मधेस सरकारले बलिदानी दिवसको अवसरमा आज सार्वजनिक विदा समेत दिएको छ ।

प्रकाशित : २०७९ माघ ५, बिहीबार १०:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ