साथीकै पेटमा दारुको बोतल घुसाएका युवक जेल चलान


रौतहट । आफ्नै मोटर ग्यारेजमा बोलाएर साथीको मलद्वारबाट सिसीको बोतल पेटभित्र पसाएको आरोपमा पक्राउ परेका गुजरा–९ का नसिम खानलाई जिल्ला अदालत गौरले पुर्पक्षका लागि जेल चलान गरेको छ ।

शल्यक्रियाबाट सिसीको बोतल निकालिएका उनको अवस्था सामान्य छ । चन्द्रपुर १० बाल्चनपुरस्थित समिरको अटो ग्यारेजमा खानले गुजरा नगरपालिका–९ अमतबा टोलका २६ वर्षीय नुर्साद मन्सुरीलाई गत फागुन २० गते खाजा खान बोलाएका थिए ।

नशालु पदार्थ खुवाई बेहोस बनाएपछि मलद्वारबाट रक्सीको बोतल पेटभित्र पसाएका थिए । त्यसपछि गम्भीर बिरामी परेका मन्सुरीको चितवनस्थित पुरानो मेडिकल कलेजमा चिकित्सकले शल्यक्रिया गरेर सिसीको बोतल निकाले थिए ।

घट्नालगत्तै खानलाई इलाका प्रहरी चन्द्रनिगाहपुरले पक्राउ गरी ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको थियो । साथी मन्सुरीलाई खाजा खान बोलाएको तर पेटभित्र बोतल पसाउने हर्कत नगरेको खानले प्रहरीसमक्ष बयान दिएका थिए ।

प्रहरीले घाइते मन्सुरीलाई चितवन पुगेर आईसीयू कक्षमा बयान लिएको थियो । उनकै बयानका आधारमा खानलाई जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाँले पुर्पक्षका लागि कारागार चलानको आदेश गरेको प्रहरीले जनायो ।

गत फागुन २० गते साँझ खानको मोटरग्यारेजमा खाजा खान पुगेका मन्सुरी भोलिपल्ट घर नफर्केपछि परिवारका सदस्यले खोजबिन गरेका थिए । पटकरपटक फोन गर्दा मन्सुरी सम्पर्कमा आएनन् । अन्तमा मन्सुरी मोटरग्यारेजमा बसेको खानले बताएपछि घर लिएर आएका बुवा नेवाज मन्सुरीले बताए ।

घरमा उनको पेट दुख्न थालेपछि स्थानीय क्लिनिकबाट औषधि किनेर खुवाउँदा बिसेक नभएपछि चन्द्रपुर अस्पताल पुर्‍याएका थिए । यहाँ एक्स–रे गरेर हेरेपछि पेटमा सिसीको बोतल देखिएको डा। सुभाष चौधरीले बताए । चिकित्सकले उनलाई तत्काल चितवन रेफर गरेका थिए ।

चितवनको पुरानो मेडिकल कलेज शिक्षण अस्पतालमा भर्ना गराएका हुन् । अस्पतालका ल्याप्रोस्कोपिक तथा जीआई सर्जन विभागका प्रमुख कन्सल्टेन्ट डा।नारायणप्रसाद बेल्बासे र एनेसथेसिया डा। राजेश यादबसहितको टिमले पेटको शल्यक्रिया गरेर सिसीको बोतल निकालेका थिए ।

मलद्वारबाट ५ सय एमएलको सिसीको बोतल पसाएको हुनाले मन्सुरीको ठूलो आन्द्रामा प्वाल परेको छ । यहीकारण उनको दिसा पेटभरि फैलिसकेको डा। बेलबासेले सुनाए । अहिले मन्सुरीको स्वास्थ्य अवस्था सुधार आए पनि हिँडडुल गर्न नसकेको उनका बुवा नेवाजले बताए ।

‘कालको मुखबाट जोगिएर छोरा आएको छ, दोषीलाई हदैसम्मको कारबाही होस् भन्ने हाम्रो माग हो,’ उनले भने, ‘यति ठूलो अपराध गर्नेलाई छाड्न हुन्न । अहिले पनि छोराको अवस्था सामान्य भइसकेको छैन ।’

प्रकाशित : २०७९ चैत्र २४, शुक्रबार १६:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ