सिरहामा प्रहरी जवानलाई यातना: छानविन गर्न डिएसपीको संयोजकत्वमा टोली गठन


जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी जवान अनु रायलाई यातना दिएको भिडिओ सार्वजनिक भएको विषयमा मधेश प्रदेश प्रहरी कार्यालयले छानविन अगाडी बढाएको छ ।

उक्त घटनाको छानविन गर्नका लागि प्रदेश प्रहरी कार्यालयका डिएसपी ज्ञानकुमार महतोको संयोजकत्वमा ५ सदस्यीय छानविन टोली गठन भएको हो । प्रहरी जवानलाई यातना दिएको विषयमा डिएसपी महतोको संयोजकत्वमा ५ सदस्यीय टोली गठन भएको प्रदेश प्रहरी कार्यालयका एसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।

उनले घटनाको छानविन गर्नका लागि गठित टोली सिरहा पुगेको पनि बताए । घटनाको छानबिन गरी अबिलम्ब प्रतिवेदन बुझाउन निर्देशन दिइएको उनको भनाई छ ।

चालकको रुपमा कार्यरत प्रहरी जवान रायलाई पाता कसेर यातना दिएको भिडिओ आज सार्वजनिक भएको छ । भिडिओ सार्वजनिक भएलगत्तै प्रदेश प्रहरी प्रमुख डिआईजी स्वयंम सिरहा पुगेर घटनाबारे बुझेका थिए ।

प्रहरी जवान रायका भाई रजनिशले बढी ड्यूटी गराएको र गुनासो गरेपछि इन्सपेक्टर हेमन्द राईले नियन्त्रणमा लिएर यातना दिएको आरोप लगाएका छन् । उनले कानूनी उपचार समेत खोज्ने चेतावनी दिएलगत्तै प्रदेश प्रहरी कार्यालयले घटनाको सत्यतथ्य बाहिर ल्याउन छानविन टोली बनाएको छ ।

सिरहाका प्रहरी प्रमुख एसपी टेकुनन्द इवा लिम्बुले लागुऔषध वा अन्य नशा सेवन गरी अनुशासन विपरित गर्न खोज्दा प्रहरी जवान रायलाई नियन्त्रणमा लिएर सोधपुछ मात्र गरेको दावी गरेका छन् ।

उनले भने, ‘प्रहरी जवान राय अहिले पनि ड्यूटी गरिरहेका छन् । उनीमाथि कुटपिट भएको छैन । नियन्त्रणमा लिन पनि समस्या भएपछि हतकडी लगाएर सोधपुछ मात्र गरियो । यातना दिएको भनिएको भिडिओ कसरी बाहिर आयो थाहा छैन ।’

प्रकाशित : 12 July 2023 7:04 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ