रौतहटमा नहरमा डुबेर ८ वर्षीया बालिकाको मृत्यु


रौतहट । चन्द्रपुर–१० स्थित वाग्मती नहरमा डुबेर शनिबार एक बालिकाको मृत्यु भएको छ । अर्की एक बालिकालाई नहरबाट सकुशल उद्धार गरिएको छ ।

बडेर्वाका राजकुमार साहकी ८ वर्षीय छोरी शिवानीकुमारी साह र स्थानीय परमेश्वर साहकी ८ वर्षीया नातिनी शिवानी साह गाउँनजिक रहेको वाग्मती सिँचाइ आयोजनाको नहरको छेउमा खेल्दै गरेको अवस्थामा शुक्रबार साँझ डुबेका थिए ।

राजकुमारकी छोरी शिवानीलाई स्थानीय अशोक साहले नहरबाट सकुशल उद्धार गरी बाहिर निकालेको थियो । परमेश्वरकी नातिनी शिवानी भने बेपत्ता भइन् ।

घटनालगत्तै इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाको टोली खोजीमा खटेको थियो । राति अबेरसम्म पनि बेपत्ता शिवानी फेला परिनन् ।

प्रहरी निरीक्षक सापकोटाले हराइरहेकी शिवानीको खोजतलास गर्दै जाँदा बेपत्ता भएको स्थानभन्दा ६ किलोमिटर दक्षिण वृन्दावन नगरपालिका–६ स्थित नहरमा मृत अवस्थामा भेटिएको बताए ।

‘हामीले राति अबेरसम्म बालिका शिवानीको खोजतालास गरेका हौं,’ उनले भने, ‘बालिका बगाएर पर लगेको रहेछ । बिहान मृत अवस्थामा फेला पार्‍यौं ।’

मृतक शिवानीका बुबा शंकर साह हाल भारत जिल्ला सीतामढी नन्दबारा बस्छन् ।

प्रकाशित : २०८० श्रावण ६, शनिबार १७:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ