धनुषाको खजुरीमा रेल म्युजियम बनाउँछौँ : यातायातमन्त्री ज्वाला


काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले धनुषा जनकनन्दनी गाउँपालिकाको खजुरीमा रेल म्युजियम बनाउने भएको छ ।

विस १९९४ मा तत्कालीन ब्रिटिस इन्डिया कम्पनीले पहिलो पटक भारतको जयनगरदेखि नेपालको महोत्तरीस्थित बिजुलापुरासम्म कार्गो रेल सञ्चालन गरेको थियो । नेपालमा पहिलो पटक रेल आएकै ठाउँमा म्युजियम बनाउन लागिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताएका छन् ।

‘जनकनन्दनीको खजुरीमा अहिले पनि ब्रिटिस सरकारले छोडेका १० रेल इन्जिन छन् । ती रेलहरू राखेर म्युजियम बनाउने तयारीमा छौँ’ मन्त्री ज्वालाले भने, ‘१० कठ्ठा क्षेत्रफलभित्र म्युजियम बन्दैछ ।’

यसै वर्षभित्र म्युजियम निर्माणको काम सक्नेगरी मन्त्री ज्वालाले निर्देशन पनि दिएका छन् ।

केही समयअघि मन्त्री ज्वालाले म्युजियम बनाउने क्षेत्रको स्थलगत भ्रमण गरेका थिए । भ्रमणलगत्तै रेल विभाग र रेल्वे कम्पनीसँग छलफल गरेका थिए। छलफल म्युजियम बनाउने निर्णयमा पुगेको कम्पनीका जिएम निरन्जन झाले बताए ।

ब्रिटिस इन्डिया कम्पनीले ग्यारेज बनाउन र नेपालको काठ लैजान पहिलो पटक बिजुलापुरामा रेल ल्याएको थियो । फर्किँदा स्टिम इन्जिन र डिजेल इन्जिनका १० रेल छोडेको थियो । ती इन्जिनहरूको गोरखनाथ, पशुपति, महावीर, चन्द्र, गुहेश्वरीलगायत नाममा नेपाली नामकरण पनि गरिएको छ ।

मन्त्रालयले म्युजियम निर्माणस्थल अध्ययनका एक प्राविधिक टोली पठाउँदैछ । रेल्बेको जमिन छुट्याउन, पर्खाल निर्माण गर्न र अन्य सम्पतिको संरक्षण गर्न टोली पठाउन लागिएको मन्त्री ज्वालाले बताए ।

प्रकाशित : २०८० भाद्र ८, शुक्रबार १७:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ