भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी


एसिया कप क्रिकेट २०२३ को उपाधि भारतले जितेको छ । आइतबार कोलम्बोमा भएको फाइनल भिडन्तमा घरेलु टिम श्रीलंकालाई १० विकेटले पराजित गर्दै भारत आठौं पटक एसिया कप च्याम्पियन भएको हो ।

भारतले पछिल्लोपटक २०१८ मा एसिया कप जितेको थियो। एसिया कपको फाइनलमा विकेटको आधारमा तय भएको यो सबैभन्दा ठूलो जित हो ।

श्रीलंकाले दिएको ५१ रनको लक्ष्य भारतले विकेट नगुमाइ ६.१ ओभरमा पार गर्‍यो । भारतका लागि इशान किसनले नटआउट २३ रन र शुभमन गिलले नटआउट २७ रन जोडे ।

त्यसअघि कोलम्बोमा टस जितेर पहिले ब्याटिङ रोजेको श्रीलंका १५.२ ओभरमा ५० रनमै अलआउट भयो ।

श्रीलंकाको ब्याटिङ लाइनअप ध्वस्त पार्न भारतका मोहमद सिराजले ६ विकेट लिए । करिअरको उत्कृष्ट बलिङ गरेका उनले ७ ओभरमा एक मेडन राख्दा २१ रन खर्चिए ।

यस्तै हार्दिक पाण्ड्याले २.२ ओभरमा ३ विकेट लिए भने जसप्रति बुमराहले १ विकेट हात पारे ।

श्रीलंका लगि कुशल मेन्डिसले १७ रन र डुशान हेमन्थले नटआउट १३ रन जोड्दा ९ ब्यट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भएका थिए । जसमा श्रीलंकाका पाँच ब्याट्सम्यानले त खाता नै खोल्न सकेनन् ।

सिराजले चौथो ओभरमा चार विकेट लिएका थिए । उनले सो ओभरको पहिलो बलमा पाथुन निशंकालाई २ रनमा रविन्द्र जडेजाबाट क्याच गराए । तेस्रो बलमा सदीरा समाब्रिक्रमालाई एलबिडब्लूको धरापमा पारे ।

चौथो बलमा चारिथ असालंकालाई शून्यमा इशान किसनबाट क्याच गराए । यस्तै छैटौं बलमा उनले धनन्जय डि सिल्भालाई ४ रनमा केएल राहुलको हातबाट क्याच गराएका थिए ।

त्यसअघि श्रीलंकाले इनिङको तेस्रो बलमा कुशल परेरालाई गुमाएको थियो। उनी जसप्रित बुमराहको बलमा आउट भएका थिए ।

श्रीलंकाले चौथों ओभर सकिदा ५ विकेट गुमाउँदा सुरुवातै संकटमा परेको थियो ।

५० रन श्रीलंकाको एकदिवसीय इतिहासकै दोस्रो कम योगफल हो । एकदिवसीय खेलमा श्रीलंकाको सबैभन्दा कम स्कोर भने २०१२ मा दक्षिण अफ्रिकाविरुद्ध बनाएको ४३ रन हो ।

प्रकाशित : 17 September 2023 6:36 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ