जनकपुरधाम । वडादसैं सकिएसँगै अब हिन्दू धर्माबलम्बीहरु लक्ष्मी पूजाको तयारीमा जुटेका छन् । हिन्दुको होस् वा मुस्लिमको चाडपर्व, दुई समुदायबीच तनाव सृजना भएको समाचार कहिलेकाहीँ सार्वजनिक हुने गर्दछ ।
तर सिरहाको औरही गाउँपालिका ५ मा भने हिन्दूको पर्वमा मुस्लिम समुदाय र मुस्लिमको पर्वमा हिन्दू समुदायले सहयोग गर्छन् । यहाँ कहिल्यै विवाद भएन । यतिसम्म कि हिन्दूको पर्वमा लाग्ने मेलामा मुस्लिम समुदायले आर्थिक सहयोग मात्र गर्दैनन्, मेला भव्य र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न आयोजक समितिमै रहेर दिनरात खट्छन् ।
हिन्दूको चाडपर्व वा मेलामा सबभन्दा बढी सक्रियता देखाउँछन्– मुस्लिम समुदायका यूवा मो. समिम । पछिल्लो समय उनी लक्ष्मी पूजा मेला समितिका सचिव बनेका छन् । हिन्दूहरुले लक्ष्मी पूजा मेलाबारे छलफल गर्न बैठक राख्दा उनलाई अतिथिको रुपमा बोलाए र सचिवको जिम्मेवारी सुम्पिए ।
मेला समितिका अध्यक्ष श्रीदेव यादव र कोषाध्यक्ष देवझारी यादव बनेका छन् । यसवर्ष लक्ष्मीपूजा कात्तिक २६ गते परेको छ । पूजा नजिकिएकाले नवनिर्मित समितिले मेलाको तयारी सुरु गरेको छ ।
शुक्रबार लक्ष्मी पूजाको मूर्ति निर्माण स्थलको सरसफाई गरियो । सरसफाईमा पनि मुस्लिम युवा मो. समिम सहभागी बने । उनी कोदालो चलाए, फोहोर उठाए । त्यसपछि आर्थिक संकलनमा लागे ।
हिन्दूहरुको चाडपर्वमा औरहीका मुस्लिम समुदायले तन, मन, धनले समेत सहयोग गर्छन् । आपसी सहयोगको भावनाले औरहीमा हिन्दू र मुस्लिम समुदायको सद्भाव अद्भुत छ, अनुकरणीय छ ।
हरेक वर्ष इन्द्र पूजा मेला समितिमा समेत उनलाई राखिन्छ । यसवर्ष उनी मेला स्वयंसेवक समितिका संयोजक बनेका थिए । हिन्दू धर्म तथा चाडपर्वप्रति उनको अगाध आस्था छ ।
उनी हिन्दूको हरेक चाडपर्व तथा मेला उत्सवमा सहभागी हुन्छन् । भन्छन्, ‘म मुस्लिम हुँ । तर आफ्नो धर्मप्रति जति आस्था छ, उत्तिकै आस्था हिन्दू धर्मप्रति पनि राख्छु ।’
हिन्दू चाडपर्व वा मेला उत्सवमा खट्दा (सहयोग गर्न पाउँदा) मन आनन्दित हुने गरेको उनको भनाई छ ।
‘हाम्रो चाडपर्वमा पनि हिन्दू समुदाय र साथीभाई सहयोग गर्ने गरेका छन्’, उनले भने, ‘यहाँको जस्तै सद्भाव अन्य ठाउँमा पनि हुनुपर्छ । कसैले पनि कसैको धर्म वा आस्थामाथि प्रहार गर्नु हुँदैन ।’
एकले अर्का धर्मप्रति गरिने सहयोगले यहाँका दुई समुदायबीच भाइचाराको सम्बन्ध बलियो बनेको औरही बजार समितिका अध्यक्ष विनय यादव बताउँछन् ।
उनले भने, ‘मुस्लिम समुदायको दाहा मेलामा हामी सहयोग गर्छौं । एकसाथ लाठीलाठी खेलेर मनोरञ्जन गर्छौं । हाम्रो लक्ष्मी पूजा होस् वा इन्द्र पूजा, उहाँहरु पनि सहयोग गर्नुहुन्छ ।’
– नेपाल प्रेस