मधेस सरकारबारे नेकपा एस भोलि निर्णय गर्ने !


जनकपुरधाम । नेकपा (एकीकृत समाजवादी)ले मधेस सरकार गठनका विषयमा छलफल गरेको छ । सोमबार पार्टी कार्यालय आलोकनगरमा मधेस सरकारलगायतका विषयमा सचिवालयका सदस्यहरूले छलफल गरेका हुन् ।

बैठकबाट निर्णय भने नगरिएको उपाध्यक्ष केशवलाल श्रेष्ठले जानकारी दिए । ‘आज समसामयिक राजनीतिक विषयमा छलफल गर्‍यौँ । मधेस सरकारबारे छलफल भए पनि आज निर्णय भएन । भोलिको बैठकबाट निर्णय गर्छौं,’ उनले भने ।

जनता समाजवादी पार्टी (जसपा) नेपालले नेतृत्व गरिरहेको मधेस सरकारमा एकीकृत समाजवादीका दुई मन्त्री छन् ।

सत्तासाझेदार नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने कुरामा समर्थन गर्न आग्रह गरेका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीमा छलफल गरेर निर्णय दिने आइतबार आयोजित पत्रकार सम्मेलनमा पनि जानकारी दिएका थिए ।

आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेट र दिउँसो सिंहदरबारमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा पनि नेपालले सोही जवाफ दिएका थिए ।

केही दिन अगाडि मधेस सरकारबारे नै विपक्षी दलको बैठकमा अध्यक्ष नेपाल पुगेपछि विभिन्न टीकाटिप्पणी भएको थियो ।

प्रकाशित : २०८१ जेष्ठ २१, सोमबार १९:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ