काठमाडौं । टी–२० विश्वकपमा आज भारत र पाकिस्तान भिड्दैछन् । समुह ए अन्तर्गत भारत र पाकिस्तानबीचको खेल आज राती सवा ८ बजे हुने छ ।
न्युयोर्कको नासाउ काउन्टी स्टेडियममा यी दुई प्रतिष्पर्धी आमने सामने हुन लागेका हुन् । यी दुई मुलुकबीचको खेललाई विश्वभर चासोका साथ हेर्ने गरिएको छ ।
जारी विश्वकपमा भारतले आयरल्याण्डविरुद्ध जीत हासिल गरेर सुखद शुरुवात गरेको छ भने पाकिस्तान भने सुपरओभरमा अमेरिकासँग पराजित भएको छ । पाकिस्तान आज पहिलो जितको खोजीमा छ ।
पहिलो खेलमा आयरल्यान्डविरुद्ध आठ विकेटको सहज जित निकालेको भारत भने लगातार दोस्रो जितको लक्ष्यमा छ ।
राजनीतिक टकराव र तिक्ततापूर्ण सम्बन्धका कारण पनि दुई देश बीचको खेल चासोका साथ हेरिने गरिएको छ । विश्व क्रिकेटमा भारत–पाकिस्तानबीचको खेल सबैभन्दा तीब्र र उच्चस्तरीय प्रतिस्पर्धात्मक पनि मानिन्छ । त्यसैले पनि दुई देशबीचको खेल विश्व क्रिकेटमा सबै भन्दा प्रतिक्षित रहदै आएको हो ।
यी दुई टिम हालसम्म ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १२ पटक आमने–सामने भएका छन् । दुई देशबीचको खेलमा भारतले धेरै जीत निकालेको छ ।