बेचन झा : दुई देशको नागरिक, तीन देशको ‘अपराधी’ ! आरजुदेखि अमेरिकासम्मको कनेक्सन


काठमाडौं । १५ असारमा पक्राउ परेका नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी बेचन झासँग भारतको पनि नागरिकता रहेको अनुसन्धानको क्रममा खुलेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका क्रममा झासँग भारतको बिहार राज्यस्थित मधुवनीबाट समेत आधार कार्ड बनाएको फेला परेको हो । उनको नेपालमा भने जिल्ला प्रशासन कार्यालय, पर्साबाट लिएको नागरिकता थियो ।

झाको नागरिकतामा १४ चैत २०६३ मा घुम्ती टोलीमार्फत नेपाली नागरिकता लिएको देखिन्छ । नागरिकतामा उनको जन्मस्थान पर्साको वीरगञ्ज र बुबाको नाम दुखमोचन झा उल्लेख छ ।

उनी भारतका मतदाता हुन् । २०२४ को लोकसभा चुनावमा बिहार राज्यको मधुवनी जिल्लास्थित बाबुबह्री–३४ निर्वाचन क्षेत्रमा मतदाता देखिन्छ । भारतको निर्वाचन आयोगको पोर्टलमा सो विवरण छ । दोहोरो नागरिकता लिनु भारतीय कानुनअनुसार पनि दण्डनीय छ ।

अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘‘उनको जन्म भारतमै भएको थियो । लामो समयदेखि नेपालमा रहेर व्यवसाय गर्दै आए । नेपालमा जालजेलपूर्ण रुपमा जन्मको आधारमा नागरिकता बनाएका हुनसक्छ ।’’

बेचनका छोरा विभांशुशेखर झाले आफ्ना बुवालाई गैर कानुनी रुपमा पक्राउ गरी हिरासतमा राखेको भन्दै सर्वोच्चमा उजुरी दिएका थिए । तर सो रिट खारेज भएको छ । उनका छोरा समेत भारतीय मतदाता रहेको खुलेको छ । उनीहरूका परिवारका सबैजसोले नागरिकता दुवैतिरको चलाइरहेको देखिएको अनुसन्धान अधिकृतहरू बताउँछन् ।

प्रहरीले गृह मन्त्रालयमार्फत् भारतीय पक्षसँग आधारित विवरण मागेको छ । अनुसन्धानका संलग्न अधिकृतहरुका अनुसार, बेचनका बुबा भारतीय नागरिक थिए । नेपाली नागरिकसँग विवाह गरेका थिए । त्यसपछि नेपाल आएका थिए । त्यसबेला उनले श्रीमतीको नामबाटै नेपालमा व्यवसाय सुरु गरेका थिए ।

बेचन झाले भूषण राणा र आरजु राणा देउवालाई गृह मन्त्रालयमार्फत नक्कली शरणार्थीको नाम अघि बढाउन सहजीकरण गरिदिन भनेका अनुसन्धान अधिकृतहरू बताउँछन् ।

त्यसक्रममा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवामार्फत गृहमन्त्री बालकृष्ण खाँणलाई शरणार्थी समस्याबारे झाको मागहरूबारे हेरिदिन सन्देश दिइएको बताइएको छ । पछि मन्त्रालयमा रहेको प्रतिवेदन नै गायब पारेर नक्कली नाम राखिएको अनुसन्धानबाट खुलेको थियो ।

  • नेपालभ्यूज
प्रकाशित : २०८१ श्रावण १५, मंगलवार ०९:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ