काठमाडौं । १५ असारमा पक्राउ परेका नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी बेचन झासँग भारतको पनि नागरिकता रहेको अनुसन्धानको क्रममा खुलेको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका क्रममा झासँग भारतको बिहार राज्यस्थित मधुवनीबाट समेत आधार कार्ड बनाएको फेला परेको हो । उनको नेपालमा भने जिल्ला प्रशासन कार्यालय, पर्साबाट लिएको नागरिकता थियो ।
झाको नागरिकतामा १४ चैत २०६३ मा घुम्ती टोलीमार्फत नेपाली नागरिकता लिएको देखिन्छ । नागरिकतामा उनको जन्मस्थान पर्साको वीरगञ्ज र बुबाको नाम दुखमोचन झा उल्लेख छ ।
उनी भारतका मतदाता हुन् । २०२४ को लोकसभा चुनावमा बिहार राज्यको मधुवनी जिल्लास्थित बाबुबह्री–३४ निर्वाचन क्षेत्रमा मतदाता देखिन्छ । भारतको निर्वाचन आयोगको पोर्टलमा सो विवरण छ । दोहोरो नागरिकता लिनु भारतीय कानुनअनुसार पनि दण्डनीय छ ।
अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘‘उनको जन्म भारतमै भएको थियो । लामो समयदेखि नेपालमा रहेर व्यवसाय गर्दै आए । नेपालमा जालजेलपूर्ण रुपमा जन्मको आधारमा नागरिकता बनाएका हुनसक्छ ।’’
बेचनका छोरा विभांशुशेखर झाले आफ्ना बुवालाई गैर कानुनी रुपमा पक्राउ गरी हिरासतमा राखेको भन्दै सर्वोच्चमा उजुरी दिएका थिए । तर सो रिट खारेज भएको छ । उनका छोरा समेत भारतीय मतदाता रहेको खुलेको छ । उनीहरूका परिवारका सबैजसोले नागरिकता दुवैतिरको चलाइरहेको देखिएको अनुसन्धान अधिकृतहरू बताउँछन् ।
प्रहरीले गृह मन्त्रालयमार्फत् भारतीय पक्षसँग आधारित विवरण मागेको छ । अनुसन्धानका संलग्न अधिकृतहरुका अनुसार, बेचनका बुबा भारतीय नागरिक थिए । नेपाली नागरिकसँग विवाह गरेका थिए । त्यसपछि नेपाल आएका थिए । त्यसबेला उनले श्रीमतीको नामबाटै नेपालमा व्यवसाय सुरु गरेका थिए ।
बेचन झाले भूषण राणा र आरजु राणा देउवालाई गृह मन्त्रालयमार्फत नक्कली शरणार्थीको नाम अघि बढाउन सहजीकरण गरिदिन भनेका अनुसन्धान अधिकृतहरू बताउँछन् ।
त्यसक्रममा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवामार्फत गृहमन्त्री बालकृष्ण खाँणलाई शरणार्थी समस्याबारे झाको मागहरूबारे हेरिदिन सन्देश दिइएको बताइएको छ । पछि मन्त्रालयमा रहेको प्रतिवेदन नै गायब पारेर नक्कली नाम राखिएको अनुसन्धानबाट खुलेको थियो ।
- नेपालभ्यूज