औरहीका अध्यक्ष शिवजी यादव कार्यपालिका बैठकमा अल्पमतमा परेपछि…


धर्मेन्द्र पासवान

सिरहा । औरही गाउँपालिका‌का प्रमुख प्रशासकीय अधिकृत सर्वजित झालाई हटाउन र निमित्त तोक्न बसेको कार्यपालिका बैठकमा विवाद भएको छ ।

बैठकमा गाउँपालिका अध्यक्ष शिवजी यादवले प्रमुख प्रशासकीय अधिकृत झालाई हटाउने र निमित्त रामभरोस यादवलाई तोक्न प्रस्ताव गरेका थिए । तर उनको प्रस्ताव विवादित बन्यो ।

कार्यपालिकामा अध्यक्ष र उपाध्यक्षसहित १३ जना छन् । जसमध्ये १२ जना उपस्थित थिए । सदस्य रामदेव राम अनुपस्थित थिए । उक्त बैठकमा उपाध्यक्ष रेणु यादवसहित ६ जना अध्यक्षको प्रस्ताव मानेनन् ।

एक सदस्यले दिएको जानकारी अनुसार अधिकृत झालाई हटाउन सबै एकजुट छन् । तर विद्यालय निरीक्षक रामभरोजलाई निमित्त हाकिम बनाउन नहुने पक्षमा उपाध्यक्षसहित ६ जना उभ्यौं । त्यसपछि कुनै निर्णय नगरी बैठक स्थगित भयो ।

स्रोतका अनुसार उपाध्यक्षसहितले पालिकामै दरबन्दी रहेका कर्मचारीलाई निमित्त हाकिम बनाउन पक्षमा छन् । अध्यक्षले निमित्त तोक्न खोजेका कर्मचारी रामभरोसको दरबन्दी सुखिपुर नगरपालिकामा छ ।

अध्यक्ष यादवको प्रस्ताव पास गर्न अनुपस्थित सदस्य रामदेव राम निर्णायक बनेका छन् । आर्थिक प्रलोभनमा पारेर उनलाई अध्यक्षले आफ्नो पक्षमा पार्ने प्रयासमा लागिसकेको स्रोतको दावी छ ।

अध्यक्षले प्रस्ताव गरेको कर्मचारी रामभरोसलाई निमित्त तोक्ने निर्णयमा वडा ५ का अध्यक्ष रामपृत यादव, वडा ४ का अध्यक्ष सुरेन्द्र प्रसाद यादव, वडा २ का अध्यक्ष अयोधी प्रसाद यादव, महिला सदस्यद्वय कुमारी निर्मला यादव र रेखा मण्डलको समर्थन रहेको बुझिएको छ ‌।

प्रकाशित : २०८१ श्रावण २१, सोमबार २१:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ