वाशिङटन । इरानसँग सम्बन्ध रहेका एक पाकिस्तानी नागरिकलाई अमेरिकी राजनीतिज्ञ र अधिकारीहरूको हत्याको षडयन्त्र गरेको अभियोग लगाइएको छ ।
असिफ मर्चेन्ट नामका ४६ वर्षिय ती व्यक्तिले अमेरिकाका प्रतिष्ठित व्यक्तिको हत्याका लागि हिटम्यान भाडामा लिने प्रयास गरेको जनाइएको छ । उनको टार्गेटमा रिपब्लिकन पार्टीबाट अहिलेका राष्ट्रपतिका उमेदवार डोनाल्ड ट्रम्प पनि भएको अमेरिकामा बीबीसीको साझेदार सीबीएसले स्रोतलाई उदृत गर्दै जनाएको छ ।
ट्रम्पको हत्याका लागि इरानले षडयन्त्र गरिरहेको चाल पाएर गएको जुनमा अधिकारीहरूले उनको सुरक्षा बढाएका थिए । अमेरिकी अधिकारी र नागरिकलाई मार्नका लागि विदेशी निर्देशित षडयन्त्र अमेरिकाको राष्ट्रिय सुरक्षालाई चुनौति भएको जनाउँदै त्यसलाई निस्तेज गर्न सबै साधन प्रयोग गरिने एफबीआईका निर्देशक क्रिस्टोफर वारेले जनाएका छन् ।
पाकिस्तानी नागरिक मर्चेन्ट गएको जुलाईमा पक्राउ परेको र उनी अहिले न्युयोर्कमा हिरासतमा रहेको जनाइएको छ । कानुन मन्त्रालयको अभियोजनपत्रका अनुसार मर्चेन्ट इरानमा समय बिताएर गएको अप्रिलमा पाकिस्तानबाट अमेरिका गएका थिए ।
अमेरिका पुग्नासाथै उनले एक व्यक्तिसँग सम्पर्क गरेका थिए, जसले हत्याको षडयन्त्रमा मद्धत गर्न सक्थे । ती नाम उल्लेख नगरिएका कन्ट्याक्ट व्यक्तिले मर्चेन्टको बारेमा प्रहरीलाई जानकारी गराएका थिए । उनले आफ्नो टार्गेटलाई मार्नुअघि अमेरिका छोड्न चाहेका थिए । गएको जुनमा उनी एफबीआईकै अन्डरकभर एजेन्टसँग हिटम्यानको रूपमा कुरा गरेका थिए ।
उनले टार्गेट गरिएका व्यक्तिको बारेमा अगस्टको अन्तिम वा सेप्टेम्बरको पहिलो सातामा जानकारी गराउने बताएका थिए । अभियोजनपत्रमा टार्गेट व्यक्तिमा ट्रम्पको नाम नै नलेखिए पनि स्रोतले सीबीएसलाई पूर्व राष्ट्रपति पनि रहेको जनाएको छ । उक्त षडयन्त्रको गएको जुलाईमा पेन्सिलभानियामा ट्रम्पको हत्या प्रयाससँग कुनै कनेक्सन नभएको जनाइएको छ ।
ट्रम्पका अतिरिक्त उनको पालाका विदेशमन्त्री माइक पोम्पेओ पनि इरानको थ्रेटमा रहेको बताइएको छ । ट्रम्पको कार्यकालमा नै इराकस्थित इरानको क्वाड फोर्सका कमाण्डर क्वासिम सोलेमनीको ड्रोन आक्रमणबाट हत्या गरिएको थियो । बीबीसी