जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले कृषि मन्त्रालयसहित ४ वटा कार्यालयमा छड्के गरेका छन् ।
मुख्यमन्त्री सिंह भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पूर्वाधार विकास कार्यालय, वन निर्देशनालय र शिक्षा विकास निर्देशनालयमा अनुगमनमा पुगेका हुन् ।
कर्मचारीहरू कार्यालयमा नबस्ने गरेको र सेवाग्राहीको काममा ढिलासुस्ती गर्ने गरेको गुनासो आएकाले छड्के गरेको उनले बताए ।
सिंहले भने, ‘आर्थिक वर्ष सकिनासाथ साउन र भदौमा कर्मचारी कार्यालयमा नभेटिने परिपाटी तोड्न छड्के सुरू गरेका छौं ।’
छड्केको क्रममा कार्यालयको निर्धारित समयमा कर्मचारी उपस्थित नभएको, केही कर्मचारी हाजिरी नगरी बाहिर निस्किएको, कसैले हाजिरी गर्न बिर्सेको भनेर बहाना गरेको मुख्यमन्त्रीले बताए । अब यस्तो लापरवाही गरे कारबाही गर्ने चेतावनी दिएको उनले सुनाए ।
कर्मचारीहरू कार्यालयमा हाजिरी भइसकेपछि बाहिर जानुपर्दा कामको जानकारी गराई आदेश लिएरमात्र जान साथै बिदा स्वीकृत गराउन पनि उनले निर्देशन दिएका छन् ।
यसअघि साउन ६ मा सिंहले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ११ मन्त्रालयमा छड्के गरेका थिए ।