धर्मेन्द्र पासवान,लहान । डाक्टर सिपालु, दयालु, स्वस्थ र खुसी हुनु पर्ने तर लोभी र कमिसन खाने चिकित्सा पेशाको मर्यादा र सम्मानलाई कायम राख्न समाजमा डाक्टरलाई भगवान भन्दा ठिक्क तल राखेर हेर्ने गरेको पाइन्छ् तर अहिले कतिपय समाचारहरूमा गरिबमारा पेशाका रूपमा समेत लेखिने गरेको भन्दै केही प्रतिशत डाक्टरले कमिसन बिना काम नगर्ने गरेका कारण चिकित्सा पेशा नै बदनाम हुदैँ गइरहेको छ ।
यस्तै भएको छ मधेश प्रदेश स्थित सिरहाको लहानमा रहेको राम कुमार शारडा उमा प्रसाद मुरारका प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुनिल प्रसाद कुशवाहाले आफ्नो पदको हदैसम्मको दुरुपयोग गरेको तथ्य खुलेको छ । प्रसुती तथा महिला रोग विशेषज्ञ (एमडी) गरेकी आफ्नै पत्नी सुशिला सिंह लाई मेसुले छात्रवृत्तिमा फार्मेसी पढ्न सिफारिस गरेको कुरा सूचनाको हकले बाहिर ल्याएको छ ।
शिक्षा तथा व्यावसायिक तालीम परिषद्, अन्तर्गतका आंगिक शिक्षालय लहान प्राविधिक शिक्षालय, लहान, सिरहा (LTS) र राम कुमार शारडा उमा प्रसाद मुरारका प्रादेशिक अस्पताल, लहान, सिरहा बीच संचालन हुन लागेको डिप्लोमा प्रमाण पत्र तह फार्मेसी र संचालन हुने डिप्लोमा प्रमाण पत्र तह सामान्य चिकित्सा र मेडिकल ल्याब टेक्नोलोजीका प्रशिक्षार्थीहरूलाई अस्पतालमा परिषद्को सम्बन्धित विषयमा पाठ्यक्रम बमोजिम प्रयोगात्मक अभ्यास गर्न अध्ययनको लागि र अस्पताल परिवारको लागि १/१ सिटको लागि सम्झौता भएको थियो । सम्झौतामा डिप्लोमा प्रमाण पत्र तह फार्मेसी, डिप्लोमा प्रमाण पत्र तह सामान्य चिकित्सा र मेडिकल ल्याब टेक्नोलोजी स्वीकृत भई आएमा प्रादेशिक अस्पताल परिवारको लागि एक/एक सिट राखिने व्यवस्था गरिने भनिएको छ ।
तर ती कोटामा मेसु डा. कुशवाहाकै संयोजकत्वमा साउन ९ गते निर्णय गरेर अस्पतालबाट आफ्नो पत्नी सुशिला सिंहको एकल नाम छात्रवृत्तिमा फार्मेसी पढ्न सिफारिस गरेको सार्वजनिक भएको छ । शुसिला सिंह आफैं नै स्त्री तथा प्रसुती विशेषज्ञता हासिल गरिसकेकी छन् । डा। सिंहले केही वर्ष आफैं पनि राम कुमार शारडा उमा प्रसाद मुरारका प्रादेशिक अस्पतालमा विशेषज्ञ डाक्टरको रूपमा काम गरेकी छन् ।
यता यो कुराको विषयमा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई जानकारी भएपछि उनले यस्तो संवेदनशील कुरालाई आधिकारिक रूपमा प्रदेशको मन्त्रालयबाट स्पष्टीकरण सोधिने र सत्यतथ्य बुझेपछि मात्रै केहि गर्न सकिने भनेका छन् ।