– सन्तोष यादव
पौष ५ गते गोलबजार खानेपानी तथा सरसफाई उपभोक्ता समितिको चुनाव हुँदैछ । चुनाव हुनु राम्रो पक्ष हो । उपभोक्ताले आफ्नो नेतृत्व आफै छान्न पाउँछन् र यसले समाजमा लोकतन्त्रलाई जीवित राख्छ । जवकी चुनाव एउटा विशुद्ध गैर राजनीतिक सामाजिक संस्थाको हुँदैछ तर यसलाई दलीयकरण गरेर अतिशय खर्चिलो, भडकिलो र प्रतिष्ठाको लडाईको रुपमा परिस्थिति विकसित गरयो गराइयो । यो भने विडम्वनापूर्ण छ ।
खानेपानीको चुनावमा एमाले , कांग्रेस , एकीकृत समाजवादी र जसपा नेपाल एक समूहमा आवद्ध भएर गठबन्धन गरेका छन् । नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी एउटा घटक बनेका छन् । त्यसैगरी स्वतन्त्र रुपमा अर्को एक समूह खडा भएको थियो जसलाई जनमत पार्टीले आन्तरिक समर्थन दिएको बुझिएको छ ।
चुनाव कुन पक्षले जित्छ अहिले अज्ञात छ । यसै भन्न सकिदैन । पूर्वानुमान गर्नु किमार्थ उचित नहोला । तर यो खानेपानीको चुनाव नेपाली कांग्रेसको लागि मालिकको घरमा ब्याएको गुजराती भैंसी जस्तै हो । भैंसीले पाडी वा पाडा जे पाए पनि , भैंसीको फाँचो ठूलो र दुधालु भए पनि भैंसी चोहर्वा मालिकको हुनेछ । कांग्रेसले पाउने जम्मा विगौती ( खिर्सा ) मात्र हो ।
चुनावी मैदानमा अभ्यास र कसरथ हेर्दा प्रष्ट देखिन्छ यो खानेपानीको चुनाव नेपाली कांग्रेसको काँधमा छ । एमाले गठबन्धनको बजारमा जुन धेरथोर रौनक देखिन्छ त्यो नेपाली कांग्रेस कै कारण छ । चोहर्वा दरवार यो चुनावमा गोलबजार क्षेत्रमा उपहासको पात्र र बितरा परेको देखिन्छ ।
यो खानेपानीको निर्वाचनमा यति धेरै शक्ति , समाथ्र्य , धन र राजनीतिक बल प्रयोग गर्नु नै थियो त कांग्रेसले अध्यक्षदेखि सदस्य सबै आफ्नै प्यानल खडा गर्न सक्नु पथ्र्यो । तर हेरौं कांग्रेसको दुर्भाग्य र दुर्दशा चोहर्वा दरवारको किलामा बाँधिने लैनो भैंसीको लागि कठ्यांग्रिदो जाडोमा शीत नओवाउदै घाँस काट्दै छ । यो चुनावमा कथंकदाचित एमाले गठबन्धनले जित्यो भने पनि कांग्रेसको हात लागि शून्य नै हुने छ । राजनीतिक रुपमा चोहर्वा दरवारकै साख बढ्ने छ । खानेपानी संस्थामा पनि निर्णय प्रकृयामा चोहर्वा दरवारकै हैकम रहने छ । दूध, दही , मोही र नौनी चोहर्वा दरवारकै ठेकीमा जम्ने भएपछि फगत विगौतीको लागि कांग्रेसले गरेको मरिहत्तेको अर्थ बुझिएको छैन । गोलबजारको सन्दर्भमा नेपाली कांग्रेसलाई बुझ्न जोन औलियाको एउटा शायरी उद्धृत गर्दा प्रष्ट हुन्छ ।
मै भि बहुत अजिव हुँ , इतना अजिव हुँ कि वस
खुदको तवाह कर लिया और मलाल भि नही
वास्तवमा गोलबजारको परिप्रेक्षमा नेपाली कांग्रेस यस्तै छ । स्वयंलाई बर्बाद पारेको छ तर कांग्रेसीजनहरुलाई कुनै दुख पनि छैन । राजनीति होस् वा युद्ध पराजित हुने पक्षले पराजित भएको एक मिनेट पछि नै पुन जित्नका लागि प्रयत्नको थालनी गर्छ । तर गोलबजारको सन्दर्भमा कांग्रेस एउटा यस्तो राजनीतिक शक्ति देखिएको छ जो संविधानसभाको पहिलो निर्वाचनदेखि नै अर्को राजनीतिक दललाई जिताउन आफूलाई वलीवेदीमा हाल्छ । यस पटक कांग्रेसले आफूलाई परीक्षण गर्ने अवसर थियो । माओवादी र एमालेबाट दिक्दार भएका स्थानीयले अब पालो कांग्रेसको भन्न सक्थे । त्यसको नमूना अभिव्यक्ति खानेपानीको चुनावबाट प्रदर्शित हुन्थ्यो । तर आफुले उम्मेदवार पनि नभेटेको सन्देश प्रवाह गराएर एमालेको जितको लागि न्वारानदेखिको बल लगाउँदै कांग्रेसले गोलबजारमा आफुलाइ होचोकदको सावित गरेको छ ।
वास्तवमा कांग्रेसले चोहर्वा दरवारको राजनीतिक कुटिलता र चातुर्य बुझ्न सकेन । चुनावको सन्दर्भमा आफुलाई फाइदा हुनेगरी विभिन्न शक्तिलाई फोड्ने र जोड्ने कलामा माहिर चोहर्वा दरवारले कांग्रेसलाई थाङ्गनामा सुताएको छ । कांग्रेस भित्र रहेका चोहर्वा दरवारका एक हितैषीलाई प्रयोग गरेर दुई ठूला नेता बीचको अन्तरविरोधलाई चलाइयो र कांग्रेसलाई आफ्नो हैसियत कमजोर छ भन्ने बोध गराएर एमाले समक्ष आत्मसमर्पण गराइयो । यसलाई राजनीतिक अदूरदर्शिता र चामल दिएर पिठो साटेको सौदावाजी नै भन्नुपर्ला । कांग्रेले एमाले र माओवादी बाहेकका दलहरुलाई मिलाएर अलग्गै तेश्रोधार खडा गर्नु उसको हितमा थियो ।
धन्न एमालेका दरवारसँग भिन्न मत राख्न सक्ने समूह फूलेस्वर नायकको टिमबाट उम्मेदवारी परेको छ नत्र चोहर्वा दरवारले मैनावती पूर्व उम्मेदवारी दिन सक्ने सामथ्र्य पनि गुमाएको देखिन्छ । गोलबजार नगरपालिका भित्रको कुशासन , भ्रष्टाचार र अनियमितताले गर्दा आम जनताको नजरमा बदनाम चोहर्वा दरवार गोलबजार खानेपानीको चुनावमा भोट माग्न जनताको घर घरमा जान सक्ने अवस्था पनि छैन । उम्मेदवारले चोहर्वा दरवारलाई आफूसँगै नघुमाएर जाती नै गरेका छन् । बदनामी र अलोकप्रियताको छायाँले अभियानलाई धक्का लाग्न सक्थ्यो । चोहर्वा दरवार पनि चुनावको मुखमा सुप्रिमोसहित काठमाडौमा विराजमान भएका छन् । यता दरवारसँग आँखा जुधाउने र विमती राख्ने टिमको भएकोले हारे पनि जिते पनि न खुशी र न पीरको संवेदनहीन अवस्था चोहर्वा दरवारले दर्शाएको छ ।
आफ्नै घरको वरिपरी आफैले बसाएको चोहर्वा बजार व्यवस्थापन समितिको चुनावमा चोहर्वा दरवारले उम्मेदवारी पनि दिन सकेन । माओवादीसँग कोषाध्यक्ष एक सिटको लागि दरवारले भिक्षा नै माग्यो । चोहर्वा दरवारका सुप्रिमो र नगरका राजाले माओवादी नेता रामचन्द्र सिंहलाई अनुनय विनय गरेर कोषाध्यक्ष पदका लागि करजोरी फोन गरिरहेको दृश्य निकै टिठ लाग्दो थियो ।
गोलबजार नगरपालिका वडा नं. ६ का वडाध्यक्ष, नगर उप प्रमुख , नगर प्रमुख , प्रदेश सांसद , प्रतिनिधि सभा प्रत्यक्ष र समानुपातिक सांसद सबै पद जितेको , प्रदेश सरकार र संघीय सरकार आफ्नै हातमा रहेको एमालेले वडा नं. ६ मा ९० प्रतिशत मतदाता रहेको खानेपानीको चुनावमा पूरै प्यानलमा उम्मेदवारी दिन सकेन । कांग्रेस, जसपा नेपाल र एकीकृत समाजवादीसँग तालमेल गर्नु प¥यो । यो परिस्थितिले चोहर्वा दरवारको राजनीति द्रुतगतिमा आरोलो लागेको संकेत गर्दछ ।
गोलबजार नगरपालिका सञ्चालनको चरम विकृत शैली , भ्रष्टाचारमा चुर्लुम्मै डुवाई , पार्टी भित्र हुकुमी शैली र आन्तरिक लोकतन्त्रको बध गर्नुका कारण चोहर्वा दरवार सतिसालबाट हल्लुडेमा परिणत भएको देखिन्छ । गोलबजार नगरपालिकामा भोट माग्न घुम्न सक्ने ल्याकत र वर्कत पनि हराएको छ ।
चुनाव कुन पक्षले जित्छ अहिले नै अनुमान गर्न कठिन छ । सबैको आ-आफ्नै दावी हुन सक्छ । तर कथंकदाचित माओवादी समर्थन प्राप्त पक्षले चुनाव जितेछन् भने त्यसले गोलबजारमा माओवादीको राजनीतिक पुनरुत्थानको अर्थलाई बल दिने छ । चोहर्वा दरवारको साख धूलिसात हुने छ । एमाले समर्थित समूहले जितेछन् भने एमालेलाई अस्तित्व नै संकटमा नपरेको भान हुने छ । कांग्रेसले भने हाम्रो काँध बलियो छ भनेर आफ्नो पिठ्युँमा आफै धाप मार्ने छ ।