यूएसएडले २ हजार कर्मचारीलाई जागिरबाट हटाउने, केहिलाई बिदामा पठाइने


एजेन्सी । अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी (यूएसएआईडी)का करिब २ हजार कर्मचारी रोजगारीबाट हटाइने भएका छन् । बाँकी पूर्णकालीन कर्मचारीहरूलाई प्रशासकीय बिदामा राखिने भएको छ । यसबारे कर्मचारीलाई इमेलमार्फत् जानकारी दिइएको सीएनएनले जनाएको छ ।

‘यूएसएआईडीका सबै प्रत्यक्ष नियुक्त कर्मचारीहरू, केही अति महत्वपूर्ण कार्य, प्रमुख नेतृत्व वा विशेष रूपमा तोकिएका कार्यक्रमहरूमा संलग्न कर्मचारीहरू बाहेक विश्वभर प्रशासकीय बिदामा रहनेछन्,’ इमेलमा लेखिएको छ । यो प्रशासकीय बिदा आइतबार रातिदेखि लागू हुनेछ ।

यूएसएआईडी विश्वभर मानवीय सहायता उपलब्ध गराउने सरकारी निकाय हो । तर ट्रम्प दोस्रो पटक अमेरिकी राष्ट्रपति बनेपछि यसको अस्तित्व संकटमा परेको छ ।

सीएनएनका अनुसार शुक्रबार एक संघीय न्यायाधीशले हजारौं यूएसएआईडी कर्मचारीहरूलाई बिदामा राख्न प्रतिबन्ध लगाउने अस्थायी आदेश खारेज गरेपछि ट्रम्प प्रशासनले यस एजेन्सीबाट कर्मचारी हटाउने प्रक्रिया थालेको हो ।

यस प्रक्रियाले यूएसएआईडीको मानवीय सहायता ब्युरोका कर्मचारीहरूलाई विशेष रूपमा असर पारेको छ । जसमा विश्वभर आपत्कालीन संकटमा छिटो प्रतिक्रिया दिने जिम्मेवारी भएका कर्मचारीहरू पनि छन् ।

प्रकाशित : 24 February 2025 5:43 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !