यूएईमा थप २ भारतीय नागरिकलाई फाँसी, अझै १२ जनालाई दिइने !


संयुक्त अरब इमिरेट्स (यूएई)मा थप दुई भारतीय नागरिकलाई मृत्युदण्ड दिइएको छ । उनीहरू दुवै भारतस्थित केरलाका बासिन्दा थिए ।

भारतीय विदेश मन्त्रालयले मार्च ५ मा जारी गरेको विज्ञप्तिमा मोहम्मद रिनाश र मुरलीधरन पीभीलाई मृत्युदण्ड दिइएको हो । रिनाशलाई यूएईका नागरिक र मुरलीधरनलाई भारतीय नै नागरिकको हत्या गरेको कसुर थियो ।

यसअघि फेब्रुअरी १५ मा मात्रै एक बच्चाको हत्या कसुरमा भारतीय महिला शहजादी खानलाई यूएईमा मृत्युदण्ड दिइएको थियो । भारतको विदेश मन्त्रालयले इमिरेट्समा रहेको भारतीय दूतावासले रिनाश र मुरलीधरन दुवैलाई बचाउन सबै प्रयास गरिएको तर सम्भव नभएको बताएको छ ।

भारतीय विदेश मन्त्रालयले फेब्रुअरी १३ मा संसद्‌लाई बताएअनुसार मृत्युदण्डको सजाय पाएका ५० भन्दा बढी भारतीय नागरिक विभिन्न देशका जेलमा छन् । संयुक्त अरब इमिरेट्स (यूएई)मा मात्रै मृत्युदण्ड सुनाइएका २६ जना भारतीय विभिन्न जेलमा छन् ।

भारत सरकारले सबै नागरिकलाई सबै सम्भव कानुनी सहयोग प्रदान गरिएको दाबी गरेको छ । यसमा यमनी नर्स निमिषा प्रिया पनि पर्छिन्, जसलाई हत्या मुद्दामा मृत्युदण्डको सजाय सुनाइएको छ।

यूएईमा शहजादी खानसहित तीन भारतीय नागरिकलाई मृत्युदण्ड दिइएपछि बाँकी २६ भारतीयको के हुन्छ भन्ने प्रश्न उठिरहेको छ । यसबाहेक साउदी अरेबियामा १२ र कुवेतमा ३ जना भारतीय नागरिकलाई मृत्युदण्डको सजाय सुनाइएको छ। उनीहरू हाल जेलमा छन् ।

प्रकाशित : 7 March 2025 7:48 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !