आयो होली- यसरी घरमै बनाउनुहोस् प्राकृतिक रङ्ग अबिर


होली रङ्ग, मस्ती र उल्लासको पर्व हो, तर यदि यस पर्वलाई सही तरिकाले मनाइएन भने यसले स्वास्थ्य र वातावरण दुवैलाई हानि पुर्‍याउन सक्छ ।

बजारमा पाइने रासायनिक रङ्ग छाला र कपालको लागि हानिकारक हुन सक्छ । यस्तो अवस्थामा प्राकृतिक हर्बल अबिरको प्रयोग एक सुरक्षित उपाय हुन सक्छ । घरमै प्राकृतिक अबिर कसरी तयार गर्ने यसबारे जानौँ –

गुलाबी र रातो अबिर : चुकन्दरबाट रातो वा गुलाबी रङ्गको अबिर बनाउन सकिन्छ । यसको लागि २–३ चुकन्दरका साथै कर्नस्टार्च वा चामलको पिठो चाहिन्छ । रङ्ग बनाउनका लागि चुकन्दरलाई साना–साना टुक्रामा काटेर पानीमा उमाल्नुहोस् । जब पानी गाढा रातो हुन्छ, त्यसलाई चिस्याउनुहोस् र त्यसमा कर्नस्टार्च मिसाएर बाक्लो पेस्ट बनाउनुहोस् । यस पेस्टलाई घाममा सुकाएर मिक्सरमा पिसेपछि अबिर तयार हुन्छ ।

पहेँलो अबिर : दुई–तीन ठूला चम्चा बेसार र एक कप बेसनबाट पहेँलो रङ्गको आर्गानिक अबिर बनाउन सकिन्छ । बेसनले अनुहारमा एलर्जी हुन्छ भने चामलको पिठो पनि प्रयोग गर्न सकिन्छ । यसलाई बनाउनका लागि बेसारलाई बेसन वा पिठोमा राम्ररी मिसाएर चाल्नीले चाल्नुहोस् । जसले गर्दा अबिर एकदम मसिनो हुनेछ । यदि गिलो रङ्ग बनाउनु छ भने बेसारलाई पानीमा घोलेर प्रयोग गर्नुहोस् ।

हरियो अबिर : होलीका लागि हरियो रङ्ग तयार गर्नु छ भने सामग्रीमा एक कप सुकेको मेहन्दीको पात र एक कप पालुङ्गो पाउडर वा सुकेको पालुङ्गोको पात राख्नुहोस् । अबिर बनाउनका लागि मेहन्दी र पालुङ्गो पाउडरका सुकेका पातहरूलाई मिसाएर मसिनो पाउडर बनाउनुहोस् । यदि गिलो रङ्ग चाहिन्छ भने पालुङ्गोलाई उमालेर त्यसको रस प्रयोग गर्नुहोस् ।

सयपत्रीको फूल : सयपत्रीको फूलबाट सुन्तला रङ्गको अबिर बनाउन सकिन्छ । यसलाई बनाउन एक कप सयपत्रीको फूल, कर्नस्टार्च वा चामलको पिठो चाहिन्छ । घरमा फूलहरूबाट रङ्ग बनाउनका लागि सयपत्रीको फूललाई सुकाएर त्यसको पाउडर बनाउनुहोस् । यसमा पिठो मिसाएर अबिर तयार गर्नुहोस् ।

प्रकाशित : 8 March 2025 12:36 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !