मधेश प्रदेशसभाबाट दलको खातामा सिधा पौने १० लाख जम्मा !


जनकपुरधाम । मधेश प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूमध्ये अधिकांश दलले पार्टीलाई लेबी तिर्ने गरेका छन् ।

प्रदेश सभामा पार्टीको टिकटबाट निर्वाचित भएपछि दलगत व्यवस्थाअनुसार पार्टीलाई सहयोग गर्न प्रदेश सभाका एक जना सदस्यबाहेक सबै पार्टीका प्रदेश सभा सदस्यले लेबी तिरिरहेका छन् ।

मधेश प्रदेश सभाका सूचना अधिकारी होमनाथ पहाडीका अनुसार संघमा समेत लेबी तिर्नुपर्ने व्यवस्था रहेकाले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुको संसदीय दलको निर्णयका आधारमा उनीहरुले दिने खातामै लेबीबापतको रकम पठाउने गरिएको छ ।

हरेक महिना करिब ९ लाख ७६ हजार १ सय ४५ रुपैयाँ मधेश प्रदेश सभाबाट लेबीस्वरुप विभिन्न पार्टीको खातामा जाने गरेको छ। प्रदेश सभाका सदस्यहरुको लेबी भने प्रदेश सभाले पार्टीको खातामा सोझै पठाउने गरेको पहाडी जानकारी दिए ।

मधेश प्रदेश सभामा एमाले सबैभन्दा ठूलो पार्टीका रुपमा छ। नेकपा एमालेको २४ प्रदेश सभा सदस्य छन् । पार्टीका प्रदेश सभा सदस्यले सरदर १० हजार रुपैयाँ प्रत्येक महिना पार्टीलाई बुझाउने गरेका छन् । त्यसैगरी, दोश्रो ठूलो दल नेपाली कांग्रेसका प्रदेश सभा सदस्यले २० प्रतिशत लेबी पार्टीलाई बुझाउने गरेको जानकारी दिएको छ ।

पार्टीका मुख्य सचेतक कुँवरकान्त झाले पार्टी संसदीय दलको विधानमै २० प्रतिशत व्यवस्था रहेको जानकारी दिए । जसमा संसदीय दलका नेता र प्रमुख सचेतकले केही रकम बढी तिर्ने गरेका छन् भने अन्य प्रदेश सभा सदस्यले २० प्रतिशतले १२ हजार ६ सय ४ रुपैयाँ तिर्ने गरेका छन् ।

त्यसैगरी, जनता समाजवादी पार्टी नेपालले १५ प्रतिशत लेबी पार्टीलाई तिर्ने गरेको छ। जसअनुसार पार्टीका सचेतक र संसदीय दलका नेताले केही बढी तिर्ने गरेका छन् भने सदस्यहरुले १ हजार ४ सय ५३ रुपैयाँ लेबी पार्टीलाई तिर्ने गरेका छन् । माओवादी

केन्द्रले ६ हजार ५ सय रुपैयाँ सबैलाई लेबीबाट लिने गरेका छन् । त्यसैगरी प्रदेश सभामा जनमत पार्टीले १८ हजार रुपैयाँ लेबीबापत लिने गरेको छ । जुन सबैभन्दा बढी हो ।

त्यसैगरी, नेकपा एकीकृत समाजवादी पार्टीले १० हजार रुपैयाँ लेबी लिने गरेको छ भने लोसपाले समेत १० हजार रुपैयाँ लेबी लिने गरेको छ । मधेश प्रदेश सभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीले १० हजार रुपैयाँ र संघीय समाजवादी पार्टीका प्रदेश सभा सदस्य बिमला अन्सारी तरन्नुम र नागरिक उन्मुक्ति पार्टी उर्मिला सिंहले भने पार्टीलाई लेबी तिर्दैनन् । बिमलाका श्रीमान रिजवान अन्सारी पार्टीका केन्द्रीय अध्यक्ष हुन् ।

मधेश प्रदेश सभाका सदस्यले प्रत्येक महिना पारिश्रमिक र सेवा सुविधासहित ८२ हजार २० रुपैयाँ पाउने गरेका छन् । जसमध्ये पारिश्रमिक ६३ हजार २०, आवास खर्चबापत १५ हजार, निजी सचिवालयबापत २ हजार, बिजुली धाराबापत २ हजार, सञ्चारवापत ३ हजार रुपैयाँ पाउने गरेका छन् ।

त्यसैगरी संसदीय दलका नेतालाई गाडीसहित केही कर्मचारी र पारिश्रमिक अलि बढी हुने गरेको छ भने मुख्य सचेतक र समितिका सभापतिलाई गाडी, इन्धन र केही पारिश्रमिकसमेत बढी हुने गरेकोछ ।

वीरेन्द्र रमण/मधेशदृष्टि

प्रकाशित : २०८१ चैत्र ५, मंगलवार ०७:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ