शुल्ककै कारण विद्यार्थीलाई एसईईबाट वञ्चित गरिए कारबाही गर्ने मेयर यादवको चेतावनी


सिरहा । मिर्चैया नगरपालिकाले शुल्क तिर्न नसकेका कारण कुनै पनि विद्यार्थीलाई एसईई परीक्षाबाट वञ्चित नगर्न निर्देशन दिएको छ ।

नगरपालिकाले बुधबार एक विज्ञप्ति जारी गर्दै नगरभरिका सबै विद्यालयहरूलाई यस्तो निर्देशन दिएको हो ।

कतिपय विद्यालयले शुल्क तिर्न नसकेकै कारण विद्यार्थीलाई परीक्षाको प्रवेश पत्र दिन नमानेको गुनासो आएको भन्दै प्रवेश पत्र उपलब्ध गराउन नगरपालिकाले आग्रह गरेको छ ।

कुनै पनि विद्यार्थीलाई परीक्षाबाट वञ्चित गराइएको खण्डमा विद्यालयलाई कानुनबमोजिम कारबाही हुने चेतावनी पनि नगरपालिकाको छ ।

यस्तै, विद्यालयले प्रवेश पत्र नदिँदा पनि विद्यार्थीलाई परीक्षा केन्द्रमा पुग्न र केन्द्राध्यक्षलाई जानकारी गराउन नगरपालिकाले आग्रह गरेको छ । त्यस्ता विद्यार्थीलाई परीक्षामा सहभागी गराउने व्यवस्था नगरपालिकाले मिलाउने मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण कुमार यादवले बताए ।

‘शिक्षा हरेक नागरिकको अधिकार हो, पैसा तिरेन भन्दैमा परीक्षाबाट वञ्चित गर्न नपाइने कानुनी व्यवस्था नै छ,’ नगर प्रमुख यादवले भने, ‘यदि कुनै विद्यालयले यस्तो बदमासी गर्छ भने कारबाही हुन्छ ।’

एसईई परीक्षा बिहीबार बिहानदेखि हुँदैछ ।

प्रकाशित : २०८१ चैत्र ६, बुधबार २०:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ