नेपालमा पनि डिजिटल मुद्रा चलाउने तयारी, कसरी हुन्छ प्रयोग ?


काठमाडौं । इन्टरनेटको व्यापकता र डिजिटल प्रणालीमा मानिसहरूको अभ्यस्तता बढेसँगै नगदलाई पनि डिजिटल प्रणालीमा रूपान्तरण गर्ने तयारीका साथ नेपाल राष्ट्र बैंकले काम गरिरहेको छ ।

डिजिटल मुद्रा प्रचलनमा ल्याएसँगै नोट छापेर बजारमा पठाउनुपर्ने खर्चिलो झन्झबाट पनि मुक्ति पाइन्छ । यसका लागि नेपाल राष्ट्र बैंकमा डिजिटल मुद्रा (सीबीडीसी)बाट पैसाको सबै काम गराउन आवश्यक गृहकार्य भइरहेको छ ।

डिजिटल मुद्रा लागू गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंक डिजिटल मुद्रा (सीबीडीसी) परियोजनासम्बन्धी प्रारम्भिक अध्ययन प्रतिवेदन १३ असोज २०७९ मा सार्वजनिक भएको थियो ।

तत्कालीन गभर्नर डा. चिरञ्जीवी नेपालले डिजिटल मुद्राको प्रचलनको सम्भावना अध्ययन गर्ने योजना ल्याएका थिए । त्यसपछिका गभर्नर महाप्रसाद अधिकारीले सम्भाव्यता अध्ययनको लागि समिति बनाए । उक्त समितिले दिएको प्रारम्भिक प्रतिवेदनमा नेपालमा डिजिटल मुद्राको आवश्यकता र सम्भावना औंल्याइएको छ ।

डिजिटल मुद्रा प्रचलनमा ल्याउने सम्बन्धमा पहिलो चरणको पाइलट प्रोजेक्ट सार्वजनिक गर्ने आन्तरिक गृहकार्य भइरहेको राष्ट्र बैंकका अधिकारीहरूले बताएका छन् ।

राष्ट्र बैंकका प्रवक्ता रामु पौडेल भन्छन्, ‘प्रारम्भिक प्रतिवेदनले औंल्याएको सम्भाव्यता र आवश्यकताको विषयमा थप गृहकार्य भइरहेको छ । केन्द्रीय बैंकले सन् २०२६ को अगस्टदेखि लागू गर्नेगरी समयसीमा तोकेर डिजिटल मुद्रा लागू गर्ने गरी तयारी गरिरहेको छ ।’

दुई चरणमा कार्यान्वयन गराउने गरी उक्त परियोजनामा काम भइरहेको पौडेलले बताए । पहिलो चरणमा होलसेलको रूपमा बैंक तथा वित्तीय संस्थाबाट ‘सीबीडीसी’ सार्वजनिक गर्ने र त्यसपछि आउनसक्ने समस्यासहितका विषयलाई समाधान गरेर रिटेलमा जाने योजना रहेको उनले बताए ।

प्रकाशित : २०८२ जेष्ठ २८, बुधबार १७:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ