कारागारबाट रवि लामिछानेको अपिल- संविधान पुनर्लेखन र प्रदेश सभा खारेज गरौं


काठमाडौं । पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान पुनर्लेखन र प्रदेश सभा खारेज गर्नुपर्ने बताएका छन् ।

शनिबार पार्टी स्थापना दिवसको अवसरमा जेलबाटै सन्देश जारी गर्दै सभापति लामिछानेले संविधान संशोधन नभई पुनर्लेखन गर्नुपर्ने बताएका हुन् । ‘भ्रष्टहरुको आर्थिक र राजनीतिक अपराधको टेको बनेको वर्तमान संविधान अब संशोधन होइन, पुनर्लेखन हुनुपर्छ,’ उनले सन्देशमा भनेका छन् ।

त्यसमार्फत सबै उच्च पदस्थ र २०४६ साल यताका सबै क्याविनेटका निर्णयको पनि छानबिन हुनुपर्ने बताएका छन् । लामिछानेले संसदीय अस्थितरताबाट देशलाई मुक्त गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी हुने व्यवस्थामा जानुपर्ने पनि बताए ।

‘प्रदेशसभा खारेज हुनुपर्छ। राष्ट्रियसभालाई चुनाव हारेका नेता र आफन्त होइन, विद्वानहरुको सभा बनाउनुपर्छ। नेताहरुले खेलौना र भर्तीकेन्द्र बनाएका सबै संवैधानिक अंगहरुको एकसाथ पुनर्संरचना गर्नुपर्छ। विश्वविद्यालयहरूबाट यिनको पार्टीको ब्यानर र होर्डिङ बोर्ड हुर्‍याउनुपर्छ। दलैपिच्छेका भ्रातृ संगठनलाई पूर्णरुपमा खारेज गर्नुपर्छ। राजनीति सफा गरेर र दोस्रो चरणको आर्थिक सुधारको कार्यक्रम ल्याएर युवा रोजगारी, लगानी र उद्यमशीलतामा फड्को मार्नुपर्छ,’ सन्देशमा लामिछानेले भनेका छन् ।

त्यसका लागि जुनसुकै पद्धतिबाट पनि तयार हुनुपर्ने उनले बताए । ‘सडक भने सडकबाट, मतपत्र भने मतपत्रबाट शान्तिपूर्ण क्रान्तिका लागि देश तयार हुनुपर्छ,’ उनले भनेका छन् ।

लामिछाने बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । जेलबाटै उनले सन्देश तयार पारेर पठाएको लामिछानेको सचिवालयले जनाएको छ ।

पुर्पक्षाका लागि थुनामा रहेका पार्टी सभापतिको सन्देश रास्वपाले गाउँ-गाउँमा पुर्याउने सहकोषाध्यक्ष दीपक बोहराले जानकारी दिए ।

प्रकाशित : २०८२ असार ७, शनिबार १७:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ