मनसुनबाट सतर्क रहन सूचना


काठमाडौं । मौसमविद्हरूले गत जेठ १५ गते नेपाल भित्रिएको मनसुन देशभरि फैलिएको जनाएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ ।

विभागले सोमबार साँझ निकालेको मौसमसम्बन्धी बुलेटिनमा मनसुनी प्रभाव बढ्दै गएकाले नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोप भई दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा असुविधा हुन सक्ने जनाइएको छ । यस्तो अवस्थामा जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

बुलेटिनअनुसार मंगलबार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रहनेछ। कोसी प्रदेश र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हलुकादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी प्रदेशका एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ ।

कोसी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।

यसैगरी मंगलबार राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हलुकादेखि मध्यम वर्षाको सम्भावना छ।

गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ। सामान्यतया नेपालमा मनसुन जुन १३ मा भित्रिन्छ र अक्टुबर २ मा बाहिरिन्छ। तर यस वर्ष भने औसत समयभन्दा १५ दिनअघि नै नेपालमा मनसुन भित्रिसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार गत जेठ १५ गते रातिदेखि नेपालको पूर्वी क्षेत्रबाट नेपालमा मनसुन प्रवेश गरेको छ । भारतमा पनि यस वर्ष चाँडै मनसुन भित्रिएको छ ।

मौसमविद्का अनुसार मनसुन एक साताअघि नै भारतको केरला भित्रिसकेको छ । केरलामा जुन महिनाको अन्तिम दिन मनसुन भित्रिने सरदर समय हो तर केरलामा एक साताअघि मे २४ मा मनसुन भित्रिसकेको छ।

मौसमविद्का अनुसार नेपालमा केरला र भारतको उत्तरपूर्वी क्षेत्र हुँदै मनसुन भित्रिन्छ। मौसमविद्हरूले ३० वर्षलाई आधार मानेर औसत वर्षा निकाल्ने गरेका छन् ।

यस वर्ष वर्षायाममा सरदरभन्दा बढी वर्षा हुने मौसमविद्हरूले अनुमान गरेका छन्। पोहोर पनि नेपालमा औसतभन्दा बढी नै वर्षा भएको थियो।

प्रकाशित : २०८२ असार १०, मंगलवार ०६:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ