खाद्य विभागलाई २२ समूहका ८१४ प्यारामिटरमा परीक्षण गर्ने अन्तर्राष्ट्रिय मान्यता, नेपालबाट कृषिजन्य वस्तु निर्यात गर्न सहज


काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले २२ खाद्य समूहमा ८१४ प्यारामिटरमा परीक्षण गर्न पारस्परिक मान्यताका साथै अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ ।

विभागको राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशाला (एनएफएफआरएल) ले हालै ८१४ प्यारामिटरमा परक्षिण गर्न सक्ने गरी अन्तर्राष्ट्रिय मान्यता पाएको हो । नेपालले यो मान्यता प्राप्त गरेसँगै ऐतिहासिक उपलब्धि हात परेको विभागले जनाएको छ ।

विभागले आइतबार पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो । विभागका महानिर्देशक संजिवकुमार कर्णका अनुसार विभागको यो प्रयोगशालाले भारतको नेशनल एक्रिडिएशन बार्ड फर टेस्टिङ एण्ड क्यालिव्रेसन ल्याबोरेट्री (एनएबीएल) बाट पछिल्लो समयमा २७२ वटा केमिकल प्यारामिटर तथा १४२ वटा माइक्रोबायोलोजिकल प्यारामिटर गरी कूल ८१४ वटा परीक्षण प्यारामिटरमा परीक्षण गर्न सक्ने गरी पारस्परिक मान्यता पाएको छ ।

यो प्रयोगशालाले यस्ता प्यारामिटरमा परीक्षण गरेको प्रतिवेदनलाई एनएबीएलका साथै विश्वभरका खाद्य सम्बन्धी अन्तर्राष्ट्रिय निकायले पारस्परिक मान्यता दिएको हो ।

यसका साथै यो प्रयोगशालालाई भारतको फुड सेफ्टी एण्ड स्टाण्डर्ड अर्थोरिटी (एफएसएसएआई) ले ५३८ वटा केमिकल तथा १४२ वटा माइक्रोवायोलोजिकल गरी ६८० प्यारामिटरमा परीक्षण गर्न अन्तर्राष्ट्रिय मान्यता प्रदान गरेको छ ।

विभागका अनुसार खाद्य समूहअन्तर्गत फुड एडिटिभ तथा कन्टामिनेन्टको जीवनाशक विषादी अवशेषतर्फ १२३, खाद्यको रंगतर्फ ११, कृत्रिक गुलियो पदार्थतर्फ ३, खाद्य प्रेजेरभेटिभतर्फ ६, भिटामिनतर्फ ४, मिनरल्स र मेटलतर्फ १९ र अफ्लाटक्सिनतर्फ ८ वटा प्यारामिटरको पनि परीक्षण गर्न यो प्रयोगशालाले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ ।

फ्याट्स एण्ड आयल, सिरियल्स् प्रोडक्ट्सख ९चामल, गहुँ, मकै, कोदो०, अलैंची, टी एण्ड कफी, जुस, जाम, जेली, अचार, क्याण्डी, तयारी चाउचाउ, अदुवा, ताजा तरकारी, फलफूल, मिल्क एण्ड डेरी प्रोडक्ट्स, हनि एण्ड स्वीटनरर्स, मिट प्रोडक्ट, स्पाइसेज, छुर्पी, प्रोसेस्ड ड्रिकिङ वाटर र डायटरी सप्लीमेन्ट्सको गर्ने गुणस्तरसम्बन्धी विश्लेषण परीक्षण रिर्पोटलाई भारतले मान्यता दिएको छ ।

एनएफएफआरएलले यस्ता वस्तुको गुणस्तर परीक्षण गरेर उपलब्ध गराउने प्रमाणपत्रको आधारमा नेपाली उद्यमीले सोझै भारतमा निर्यात गर्न सक्षम भएका छन् । यो प्रयोगशालाले मान्यता प्राप्त गरेपछि निर्यात गर्ने विभिन्न उद्योगीहरु नेपालमै परीक्षण गराउन थालेको महानिर्देशक कर्णले जानकारी दिए ।

‘भारतले नेपालको यो प्रयोगशालालाई आगामी सनु २०२७ को मार्च महिनासम्म पारस्परिक मान्यताको लागि अवधी तोकेको छ । यो अवधी सक्न लागेपछि आवश्यक प्रक्रियाको आधारमा पुन म्याद थप्नेछ,’ महानिर्देशक कर्णले भने ।

विभागका प्रवक्ता मोहनकृष्ण महर्जनका अनुसार यो सुविधा नेपालमा नहुँदा हालसम्म नेपाली निर्यातकर्ताहरु कृषिजन्य वस्तु निर्यात गर्नका लागि आवशयक पर्ने गुणस्तर परीक्षणका लागि भारतको कोलकात्ता, बैंग्लोर, नागपुर, मुम्बई, भोपाल, दिल्लीलगायतका स्थानमा धाउनुपर्ने अवस्था थियो ।

एउटा खाद्य वस्तुको परीक्षण गराउन भारत जाँदा कम्तिमा एक महिनाको समय लाग्ने र ५० हजार नेपाली रुपैयाँसम्म खर्च हुँदै आएको निर्यातकर्ता उद्योगीहरुको भनाइ छ ।

विभागअन्तर्गतको विराटनगरस्थित खाद्य प्रयोगशालाले ९ प्रकारको खाद्य समूहतर्फ ४६ वटा प्यारामिटरमा परीक्षण गर्न सक्ने गरी पारस्परिक मान्यता प्राप्त गर्ने प्रक्रियामा छ ।

प्रकाशित : २०८२ श्रावण १९, सोमबार ०७:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ