नेपालको नक्सा र चीनको गतिविधिमा भारतीय नेताको आपत्ति


नयाँदिल्ली ।कोरोनाभाइरसबाट अति प्रभावित देशमध्ये भारत पनि छ । जहाँ ५ हजार भन्दा धेरैको मृत्यु भइसकेको छ ।

१ लाख ८१ ह्जार भन्दा धेरै संक्रमित छन् । अर्थविदहरुले अर्थतन्त्र धराशायी बन्ने चेतावनी दिएका छन् । यस्तैमा प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको एक वर्ष पुगेकोमा कार्यकर्ताले खुसियाली मनाइरहेका छन् ।

एक जना पूर्वमन्त्री तथा कंग्रेसका सांसदले भने सरकारको आलोचना गर्दै यो खुसियाली मनाउने समय नभएको प्रतिक्रिया दिएका छन् । कंग्रेसका प्रवक्ता तथा नेता मनिष तिवारीले सरकारको कडा आलोचना गरेका हुन् । उनले नेपालले राजनीतिक नक्सा जारी गर्दा भारत मौन रहेकोमा पनि आपत्ति जनाए ।

उनले ट्वीटरमा लेखेका छन्, ‘कोभिड १९ बाट विश्वमै छैटौँ धेरै संक्रमित १ लाख ८१ हजार २७३ । ८० जना श्रमिक स्पेशल ट्रेनमा मारिए, चीनले लद्दाखमा ४० देखि ६० किलोमिटर भूमि मिच्यो, नेपालले नयाँ नक्सा जारी गर्यो । जसले भारतको भौगोलिक स्वाभिमानमा नकारात्मक असर गरेको छ । अर्थतन्त्र खुट्टा बिना नै चलिरहेको छ । बिजेपी के को खुसी मनाउँदैछन् ?’

भारत विश्वमा पाँचौं सक्रिय संक्रमित संख्या भएको देश हो । यसबीचमा भारतीय अर्थतन्त्रमा गम्भीर असर पर्ने आंकलन गरिएको छ । साथै बेरोजगारीको समस्या डरलाग्दो हुने विश्लेषण गरिएको छ ।

देश संकटमा भएका बेला भाजपाले मनाएको खुसियालीप्रति नेता तिवारीले आपत्ति जनाएका हुन् । यस क्रममा नेपालले नक्सा जारी गरेकोले आफूहरुको स्वाभिमानमा नकारात्मक असर परेको उनले बताएका हुन् ।
 

प्रकाशित : २०७७ जेष्ठ १८, आईतवार १७:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ