भारतको मध्य प्रदेशका मुख्यमंत्रीलाई समात्यो कोरोना भाइरस


काठमाडौं : भारतको मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

मुख्यमन्त्री चौहानले शनिबार ट्वीट गरेर आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । उनले आफ्नो सम्पर्कमा आएका व्यक्तिलाई क्वारेन्टिनमा बस्न अपिल गरेका छन् ।

मुख्यमन्त्री चौहानले लेखेका छन्, ‘मेरा प्रिय प्रदेशबासिन्दाहरु, मलाई कोभिड–१९ को लक्षण देखिएको थियो, परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो । मेरा सबै साथीहरुसँग अपिल छ कि जो कोही मेरो सम्पर्कमा आउनु भएको थियो सबैले कोरोना परीक्षण गराउनु होला । यस्तै मेरो सम्पर्कमा आउनु भएकाहरु क्वारेन्टिनमा बस्नु होला ।’

उनले लेखेका छन्, ‘मैले कोभिड–१९ का सबै नियमहरु पालना गरेको छु । डाक्टरको सल्लाह अनुसार सेल्फ आइसोलेशनमा छु । प्रदेशका बासिन्दासँग सावधानी अपनाउन अपिल छ ।’

यसैबिच कांग्रेसका वरिष्ठ नेता दिग्विजय सिंहले चौहानको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । तर उनले व्यंग्य पनि प्रहार गरेका छन् ।

सिंहले लेखका छन्, ‘दुःख लागेको छ शिवराज जी, तपाईलाई कोरोना संक्रमण भयो । ईश्वरले तपाईँलाई चाँडो स्वस्थ बनाउन् । तपाईँले सामाजिक दूरीको ख्याल गर्नु पर्ने थियो, जुन गर्नु भएन । ममाथि त भोपाल प्रहरीले उजुरी दर्ता गरेको थियो । तपाईँमाथि कसरी गर्थे । अब आइन्दा ख्याल गर्नु होला ।’

प्रकाशित : २०७७ श्रावण १०, शनिबार १४:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ