अत्यधिक गर्मीले फ्रान्समा २ महिनामै १५ सयको मृत्यु


काठमाडौं, २४ भदौं । फ्रान्समा बढेको तापक्रमका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको छ । २ महिनाको अवधिमा मात्र फ्रान्समा गर्मीकै कारण झण्डै १५ सय मानिसले ज्यान गुमाएका छन् ।

उखरमाउलो गर्मीका कारण गत जुलाईदेखि जुन महिनामा १ हजार ४ सय ३५ जनाले ज्यान गुमाएको फ्रान्सको स्वास्थ्य मन्त्रालयले जनाएको छ । फ्रेन्च रेडियोसँगको कुराकानीका क्रममा स्वास्थ्यमन्त्री यानएस बुएजाले मृत्यु हुनेमध्ये आधा ७५ वर्षभन्दा बढी उमेरमा व्यक्ति रहेको जानकारी दिइन् ।

समयमै सावधानी अपनाइएका कारण सन् २००३ मा युरोपमा देखा परेको चरम गर्मीको तुलनामा मृत्युदर १० गुणा कम रहेको बुएजाले बताइन् । गर्मी मौसमका बेला फ्रान्सका विभिन्न शहरमा रेड अलर्ट जारी गरिएको थियो । गर्मीबाट बच्न उक्त समयमा धेरै विद्यालय बन्द गर्नेदेखि लिएर सार्वजनिक सभा समारोहमा रोकसम्म लगाइएको थियो ।

गत जुनमा फ्रान्समा अहिलेसम्मकै सबैभन्दा उच्च तापमान ४६ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो। जुलाईमा राजधानी पेरिसमा पनि तापमान ४२.६ डिग्री सेल्सियस पुगेको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार ५६७ जनाको जुन २४ देखि ७ जुलाईका बीचमा मृत्यु भएको थियो । थप ८६८ जनाको मृत्यु जुलाई २१ देखि २७ मा भएको बताइएको छ । १० जनाको मृत्यु कार्यस्थलमा भएको बताइएको छ ।

गर्मीकै कारण सर्वसाधारणको सुविधाका लागि ठूला पार्क र पौडी खेल्नका लागि निर्माण गरिएका पोखरी कतिपय शहरमा खुला राखिएको थियो । प्यारिसका अधिकारीहरूले आपत्‌कालीन टेलिफोन सेवाको व्यवस्था गर्नुका साथै नगरपालिकाको भवनमा चिसिनका लागि ‘कुल रुम’ को समेत व्यवस्था गरेको थियो ।

ब्रिटेन, बेल्जियम, जर्मन, लक्जम्बर्ग र नेदरल्याणड लगायतका मुलुकले पनि हालसम्मकै सर्वाधिक गर्मी समय रेकर्ड गरेको बीबीसीले उल्लेख गरेको छ । फ्रान्सबाहेक अन्य मुलुकले भने गर्मीका कारण भएको मृत्युको तथ्याङ्क सार्वजनिक गरेका छैनन् ।

प्रकाशित : २०७६ भाद्र २४, मंगलवार ०२:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ