नरेन्द्र मोदी सरकारको नक्कली कहानीको पर्दाफास : पी चिदम्बरम


भारतीय पूर्व वित्तमन्त्री एवम् काँग्रेस नेता पी चिदंबरमले नरेन्द्र मोदी सरकारलाई कोरोना महामारीसँग सामना गर्न असफल भएको र जीडीपी नराम्रोसँग खुम्च्याएको आरोप लगाएका छन् ।

बीबीसीसँग कुराकानी गर्दै पी। चिदंबरमले जीडीपी खुम्चिएकोप्रति कुनै आश्चर्य नलागेको बताए । उनले भने, ‘हामीले यस विषयलाई लिएर सरकारलाई चेतावनी पनि दिएका थियौं । विश्वकै अर्थशास्त्रीहरुले पनि भारतलाई चेतावनी दिएका थिए । तीनदिन अगाडि मात्रै पनि आरबीआईले आफ्नो रिपोर्टमा यसको संकेत दिएको थियो ।’

२०२०–२१ वित्त वर्षको पहिलो क्वार्टर अर्थात् अप्रिलदेखि जुनको तीन महिनाको अवधिमा २३.९ प्रतिशतले खुम्चिएको भारतको केन्द्रीय सरकारको सांख्यिकी मन्त्रालयले जनाएको छ । कोरोना भाइरस महामारीका कारण विगत ४० वर्षयता पहिलो पटक भारतीय अर्थतन्त्रमा यतिधेरै गिरावट आएको हो । कोरोना महामारी रोकथाम तथा न्यूनीकरणका लागि लागू गरिएको लकडाउनका कारण भारतीय अर्थतन्त्रमा भारी गिरावट आएको विज्ञहरु बताउँछन् ।

‘प्रधानमन्त्री र वित्त मन्त्रीबाहेक अन्य सबैलाई थाहा भएको छ’, पि चिदंबरमले भने, ‘पूरै देशले यसको मूल्य चुकाउदै छ । गरीब निराश छन् । तर, मोदी सरकार भने यस विषयमा कुनै चिन्तित देखिएको छैन । सरकारले एक नक्कली कहानी बनाएको थियो, जसको वास्तविकता सबैमाझ आइसक्यो ।’

कृषि, वन र मत्स्य पालनमा मात्रै ३.४ प्रतिशत वृद्धि भएको चिदंबरमले बताएका छन् । भारतको राष्ट्रिय तथ्यांक कार्यालयको वक्तव्यमा व्यापार, होटल, यातायात र संचार क्षेत्रमा ४७ प्रतिशत गिरावट आएको तथा औद्योगिक उत्पादनमा करिब ३९.३ प्रतिशतले कमी आएको उल्लेख गरिएको छ । साथै निर्माण क्षेत्रमा ५०.३ प्रतिशतले घट्नुका साथै खनिज उत्खनन २३.३ प्रतिशतमा सीमित भएको छ ।

विद्युत र ग्यास उत्पादन ७ प्रतिशतले घटेको भारत सरकारको तथ्यांक छ ।

प्रकाशित : २०७७ भाद्र १७, बुधबार ०८:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ