भारत र चीनका सैनिकबीच भएको झडपको भिडियो भाइरल (भिडियोसहित)


एजेन्सी : चिनियाँ सामाजिक सञ्जालहरूमा भारत र चीनका सैनिकबीच सीमा क्षेत्रमा भएको झडपको भिडिओ भाइरल भइरहेको छ ।

भिडियोमा भारत र चीनका सेना एकअर्कालाई मुक्का र लठ्ठीले हानिरहेको देखिन्छ । उक्त भिडियो भिडिओ ठ्याक्कै कहिले खिचिएको हो भन्ने एकिन भइसकेको छैन । भिडिओमा चिनियाँ सैनिकहरू लठ्ठी बोकेका र दंगा नियन्त्रण सिल्ड लगाएका देखिन्छन् भने भारतीय सैनिकले पछाडि राइफल भिरेका छन् । तर उनीहरूले त्यसको प्रयोग गर्दैनन् ।

केहीबेरमा दुबैतिरका थप सैनिक आइपुग्छन् र उनीहरु पनि झडपमा सहभागी हुन्छन् । धक्कामुक्कापछि भारतीय सैनिकहरू पछाडि हटेको भिडिओमा देखिन्छ । मंगलबार राती पहिलो पटक सामाजिक सञ्जालमा देखिएको उक्त भिडिओ केही महिना अगाडिको रहेको चिनियाँ सैन्य स्रोतले बताएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ ।

स्रोतका अनुसार यो भिडिओ गत जुन १५ मा २० भारतीय सैनिक मारिएको गल्वान नदीको झडपको होइन । त्यो झडपमा चिनियाँ पक्षतिर भएको क्षतिबारे भने अहिलेसम्म बेइजिङले केही खुलाएको छैन । चिनियाँ मोबाइलबाट खिचेको उक्त भिडिओ मे तिरको हुन सक्ने सैन्य अधिकारीहरूले बताएको छ ।

सीमा क्षेत्रमा भएको विवादको आफूसँग भिडिओ प्रमाण पनि छ भन्ने देखाउन बेइजिङले नै उक्त भिडिओ सार्वजनिक गरेको हुनसक्ने विश्लेषण गरिएको छ । चीन र भारतबीच गत मे देखि लद्दाख क्षेत्रमा सीमालाई लिएर विवाद चुलिएको छ ।

अघिल्लो सातामात्र सीमा क्षेत्रमा गोली चलेको दुबै पक्षले जनाएका छन् तर गोली कसले चलाएको हो भन्नेमा चाहिँ नयाँदिल्ली र बेइजिङले एक(अर्काका सैनिकमाथि आरोप लगाएका छन् ।

सन् १९६२ मा सीमाका लागि युद्द लइेका आणवीक शक्ति राष्ट्रहरू चीन र भारतबीच अरूणाञ्चलदेखि लद्दाखसम्म झन्डै ४ हजार किलोमिटर सीमा विवाद टुंग्याउन बाँकी छ । पछिल्लो समय दुबै देशले लद्दाख क्षेत्रमा ठूलो मात्रामा सैनिक परिचालन गरेका छन् ।

प्रकाशित : २०७७ भाद्र २६, शुक्रबार १२:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ