जुवाडेको समूहले जब पत्रकारलाई खम्बामा बाँधेर कुट्न थाले


एजेन्सी : भारतको आसाममा एक पत्रकारलाई बिजुलीको खम्बामा बाँधेर कुटपिट गरिएको छ । पत्रकारमाथि यसरी कुटपिट गरिएको भिडियो अहिले भारतमा भाइरल बनिरहेको छ । भिडियोमा युवाहरुको एक समूहले खम्बामा बाँधिएका पत्रकारमाथि कुटपिट गरिरहेको देखिएको छ ।

भारतीय मिडियाहरुले दिएको जानकारी अनुसार ती आसामबाट निस्कने प्रतिदिन नामको दैनिक पत्रिकामा कार्यरत मिलन महन्ता हुन् । उनी करुप जिल्ला निबासी हुन् । यो घटना मिर्जा भन्ने ठाउँमा घटेको हो ।

भिडियोमा देखिए अनुसार मिलन महन्ता सडक किनारमा रहेको एक पसलमा बसिरहेका थिए । त्यतिबेला मानिसहरुको एक समूहले उनीमाथि घेरा हाल्यो । नजिकै रहेको बिजुलीको पोलमा उनको हात पछाडि फर्काएर बाँधिदिए। उनीमाथि केही व्यक्तिहरुले पालैपालो कुटपिट गरे । उनीहरुले उनलाई गाली गर्दै कुटेको देख्न सकिन्छ ।

कुटपिटबाट पत्रकार मिलनको गर्धन, टाउको, कान लगायतमा चोट लागेको छ । उनले प्रहरीमा रिपोर्ट गरेका छन् , मिलनले आफूलाई कुटपिट गर्ने व्यक्तिहरु जुवाडे भएको बताएका छन् । उनले दिपावलीका अवसरमा असामका ग्रामिण इलाकामा जुवाको चलन बढिरहेको बारे समाचार बनाएका थिए । यसै समाचारको विषयलाई कारण बनाएर उनीमाथि आक्रमण गरिएको मिलनले रिपोर्टमा भनेका छन् ।

मिलनमाथि भएको आक्रमणको बिरोधमा बुधबार उनका सहकर्मीहरुले प्रदर्शन गर्न भएका छन् । प्रहरीले उनलाई कुटपिट गर्ने मध्येका एकलाई पक्राउ गरेको छ । अन्यको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

मिलनले आफूहरुसँग पैसा मागेको दावी आक्रमणकारीले गरेका थिए । मिलन र उनका सहकर्मीले यस आरोपलाई अस्वीकार गरेका छन् । उनीमाथि आक्रमण गर्ने भूमाफिया पनि हुन् । उनीहरुले जुवा अड्डाहरु पनि सञ्चालन गर्ने गर्छन् ।

प्रकाशित : २०७७ मंसिर ३, बुधबार १४:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ