भारतमा उग्र बन्दै किसान आन्दोलन, मोदीले ल्याएको कानुनको विरोध


एजेन्सी : भारतमा किशान आन्दोलनले उग्र रुप लिएको छ । नयाँ कृषि कानुनको विरोधमा सुरु भएको आन्दोलन उग्र बन्दै गएको हो । प्रहरीले बल प्रयोग गरे पनि किसानहरु ‘दिल्ली चलो’ मार्चसहित विभिन्न राज्यबाट आन्दोलन चर्काइरहेका छन् ।

आन्दोलनमा सुरक्षाकर्मीको दमन बढ्दै जाँदा किसानले सडकमै रात कटाउन थालेका छन् । किसानले आन्दोलनका दौडान आवश्यक पर्ने खानेकुरा र बस्नका लागि न्यानो कपडासहित सडक प्रदर्शन गर्न पुगेका हुन् ।

सरकारले वार्ताको तयारी भएको बताए पनि किसानले आन्दोलन चर्काइरहेका छन् । किसानले आफ्नो विपक्षमा बनेका कानुन फिर्ता नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् ।

केन्द्रीय कृषि मन्त्री नरेन्द्र तोमरले भने किसानलाई आन्दोलन रोकेर वार्तामा बस्न अपील गरेका छन् । भारतीय किसान संगठनले भने किसानको हित नहुने कानुन स्वीकार गर्न नसकिने बताएका छन् । भारतका पञ्जाब, हरियाणा र उत्तर प्रदेशमा किसान आन्दोलन चर्किरहेको छ ।

भारतका किसान प्रधानमन्त्री नरेन्द्र मोदीसरकारले ल्याएको कृषि उपज व्यापार तथा वाणिज्य (संवर्धन र सरलीकरण), कृषक (सशक्तिकरण तथा संरक्षण) मूल्य आश्वासन र कृषि सेवामा करार, आवश्यक वस्तु (संशोधन) कानुनको विरोधमा उत्रिएका हुन् ।

कोरोना महामारीकै बीच भारतीय किसानले आन्दोलनलाई जारी राखेका हुन् । सरकारले किसानका मागको सम्बोधन गर्नुको साटो बल प्रयोग गरिरहेको छ । केन्द्र सरकारको नीतिप्रति कतिपय राज्य सरकारलेसमेत विरोध जनाएका छन् ।

प्रकाशित : २०७७ मंसिर १२, शुक्रबार १०:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ