श्रीलंकामा राजापाक्षे : भाइ राष्ट्रपति, दाइ प्रधानमन्त्री, काका-भतिजा मन्त्री


एजेन्सी : श्रीलंकाको क्याबिनेटमा राजापाक्षे परिवारबाट नयाँ सदस्य थपिएका छन् । बिहीबार ७० वर्षीय बासिल राजापाक्षेले श्रीलंकाको अर्थ मन्त्रीको सपथ लिएका छन् । बासिल राष्ट्रपति गोटवाया राजापाक्षे र प्रधानमन्त्री महिन्दा राजापाक्षेका भाइ हुन् ।

कोरोनाभाइरस महामारी र त्यसले पर्यटनमा पारेको प्रभावले श्रीलंकाको अर्थतन्त्र समस्यामा परेका बेला गोटवायाले भाइलाई अर्थ मन्त्रालयको जिम्मेवारी सुम्पिएका हुन् । अहिले प्रधानमन्त्री रहेका ७५ वर्षीय महिन्दा सन् २०१५ सम्म श्रीलंकाका राष्ट्रपति थिए। उनी राष्ट्रपति हुँदा भाइ बासिलले आर्थिक रणनीति बनाउँथे ।

बासिलको प्रवेशसँगै राजापाक्षे परिवारबाट क्याबिनेटमा पाँच जना पुगेका छन् । राजापाक्षेका जेठा दाजु ७८ वर्षीय छामल सिँचाइ मन्त्री छन् । महिन्दाका छोरा ३५ वर्षीय नमाल राजपाक्षेलाई युवा तथा खेलकुद मन्त्री बनाइएको छ । राजापाक्षे परिवारका अन्य थुप्रै सदस्यहरूले सहायक मन्त्री र अन्य प्रशासनिक पद सम्हालेका छन् ।

यसअघि सन् २००७ मा अमेरिकी राजदूतावासले उनलाई ‘मिस्टर १० प्रतिशत’ भनेको थियो । यो कुरा विकिलिक्सले लिक गरेको केबलमा देखिएको थियो । सरकारसँग गरेका ठेक्का सम्झौतामा उनले कमिसन लिएकाले अमेरिकी दूतावासले उनलाई त्यस्तो उपनाम दिएको हो । बासिलले भने आफूले कुनै गल्ती नगरेको दाबी गर्दै आएका छन् ।

अमेरिकाको पनि नागरिकता लिएका बासिललाई सन् २०२० को चुनाव लड्न प्रतिबन्ध लगाइएको थियो । तर उनलाई संसदमा ल्याउन राष्ट्रपति गोटवायाले संविधानको व्यवस्था नै खारेज गरिदिएका थिए ।

प्रकाशित : २०७८ असार २५, शुक्रबार १६:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ