अष्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा खोल्ने तयारी


सिड्नी : कोरोनाको संक्रमणपछि लामो समयदेखि बन्द रहेको अष्ट्रेलियाको अन्तर्राष्ट्रीय सीमा क्रिसमसलगत्तै खुल्न सक्ने अस्ट्रेलियाका केन्द्रिय पर्यटन मन्त्री डान टिहानले बताएका छन् ।

पछिल्लो समय आधाभन्दा बढी अस्ट्रेलियनले कोरोनाविरूद्धको दुबै मात्रा खोप लगाइसकेको हुनाले सरकारले क्रिमससपछि सीमा खोल्ने तयारी गरेको मन्त्री टिहानले बताए । सरकारले प्राथमिकताको सूचिमा रहेको भ्याक्सिन पासपोर्ट जारी गरी होटेल क्वारेन्टिन बिनै अन्तर्राष्ट्रिय आवागमन र बहिर्गमनको तयारी गरिरहेको उनले बताए ।

१६ वर्ष माथिका ८० प्रतिशत मानिसले खोपको दुवै मात्र लगाएपछि प्रतिबन्धहरू खुकुलो पार्दै लगिने तयारी रहेको मन्त्री टिहानले बताए । त्यसका अलावा अस्ट्रेलियाको औषधि नियामक संस्था थेरापेटीक गुड्स एडमीनीस्ट्रेसनले अनुमति दिएको खोप लगाए घरमै क्वारेनटिन बस्न सकिने पनि तयारीमा भइरहेको छ ।

‘आफ्ना व्यवसायिक, घरायसी र अन्य कारणले विदेश भ्रमण गर्न नपाएका नागरिकप्रति सरकारले सहानुभूती प्रकट गरेको छ । अब खोपको प्रकृया पुरा भएपछि अन्तर्राष्ट्रिय सिमा खोल्ने सरकारी योजना रहेको जानकारी गराउन चाहन्छु’, प्रेस क्लबमा बोल्दै पर्यटन मन्त्री टिहानले भने ।

सरकारको राष्ट्रिय योजनामासमेत यी विषय स्पष्ट भएकाले अब धेरै दिन कुर्न नपर्ने उनको कथन थियो । ‘अहिले पनि ४५ हजार अस्ट्रेलियन विभिन्न मुलुकमा छन् । ती मध्ये करिब पाँच हजार जोखिमपूर्ण अवस्थामा छन् । उनीहरूलाई पहिलो प्राथमिकतामा राखिनेछ’, उनले भने ।

उनले थपे, ‘त्यसपछि दक्ष जनशक्ति र अन्तर्राष्ट्रिय विद्यार्थीलाई स्वागत गर्न आतुर छौं, यसै हप्ता करिब ७५ प्रतिशत मानिसले खोप लगाइसक्ने अनुमान गरिएको छ ।’ उनले अन्तर्राष्ट्रिय सिमा खोल्दा क्वारेन्टाइनको प्रकृयाबारे थप बताएनन् ।

हाल कायमै रहेको १४ दिने होटल क्वारेन्टाइन वा होम क्वारेन्टाइन मध्ये एक हुनसक्ने र यसबारे आधिकारिक निर्णय आगामी निर्णय आउन सक्नेछ । एनएसडब्लु राज्य सरकारले भने एक साता होम क्वारेन्टाइनको परीक्षण गर्ने भएको छ । – सेतोपाटी

प्रकाशित : २०७८ आश्विन ८, शुक्रबार १४:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ