बेमौसमी वर्षा: २ लाख हेक्टरको धानबालीमा क्षति, २० प्रतिशत उत्पादन घट्ने !


काठमाडौं : केही दिनदेखि लगातार परेको पानीले धानबालीमा ठूलो क्षति पुर्‍याएको छ । धान भित्र्याउने समयमा देशभर परेको पानीले डुबाएर करिब २ लाख हेक्टरको धान पूर्ण क्षति भएको कृषि मन्त्रालयले जनाएको छ ।

देशभर १३ लाख ४२ हजार ८ सय १९ हेक्टरमा धान खेती गरिएको थियो । यसमध्ये करिब २ लाख हेक्टरको धान खेती पूर्ण क्षति भएको हो । निरन्तर परेको पानीका कारण पश्चिमदेखि पूर्वका पहाड र तराईका अधिकांश भूभाग डुबानमा परेको थियो ।

बेमौसमी पानीले भित्र्याउने लागेको धान खेतमै डुबेसँगै किसान वर्षभरिका लागि अन्न कसरी जोहो गर्ने चिन्तामा परेका छन् । तराईका जिल्ला बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत देशका विभिन्न जिल्लामा गरिएको धान खेतीमा क्षति पुगेको कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिए

‘डुबान क्षेत्रमा अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘क्षतिको पूर्ण विवरण आइसकेको छैन । २० प्रतिशत उत्पादन घट्ने अनुमान गरिएको छ ।’ मौसममा सुधार भए पनि यति नै धान क्षति भयो भन्ने यकिन तथ्यांक प्राप्त भइनसकेको सञ्जेलले बताए । तथ्यांक संकलन भइरहेकाले क्षतिको पूर्ण विवरण केही समयमा आउने उनको भनाइ छ।

प्रकाशित : २०७८ कार्तिक ४, बिहीबार १९:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ