इन्धन बोकेको ट्यांकर दुर्घटना : १०८ जनाको मृत्यु, ९२ घाइते


सियरा लिओनको एक राजमार्गमा इन्धन बोकेको एक ट्यांकर दुर्घटनामा पर्दा भएको आगलागीमा कम्तीमा पनि १०८ जनाको निधन भएको छ । दुर्घटनामा परेर अरु ९२ जना जलेर घाइते भएका हुन् ।

घाइते भएकाहरुमध्ये अधिकांशको अवस्था गम्भीर रहेको छ । उनीहरुको शरीर जलेको बताइएको छ । सियरा लियोनको राजधानी फ्रिटाउनमा शुक्रबार साँझतिर भएको दुर्घटनामा परी ज्यान जानेको संख्या १०८ पुगेको यहाँका अधिकारीहरुले जनाएका छन् ।

शनिबार रातिसम्ममा १०८ जनाको मृत्यु भएको उपराष्ट्रपतिले नै पुष्टि गरेका छन् । उपराष्ट्रपति मोहम्मद जुल्डेह जाल्लोहले अस्पतालमा अरु करिब ९० जनाको उपचार भइरहेको पनि जानकारी दिए । उपचार भइरहेकामध्ये अधिकांशको शरीरका धेरै भाग जलेका छन् । उद्धारकर्ता र अस्पतालमा उपचार गराइरहेका स्वास्थ्यकर्मीले पनि १०८ जनाको मृत्यु भइसकेको र अरु ९२ जनाको उपचार भइरहेको बताएका छन् ।

चिकित्सकहरुले दिएको जानकारीमा घाइते हुनेमा महिला र बालबालिका पनि रहेका छन् । तीमध्ये कतिपय दुर्घटनास्थलका स्थानीय छन् भने अरु केही सडकमा यात्रा गरिरहेका व्यक्ति पनि परेका छन् । इन्धन बोकेको ट्यांकर अर्को एउटा सवारी साधनसँग ठोक्किएपछि इन्धन पोखिएको थियो ।

पोखिएको इन्धन उठाएर लिने क्रममा स्थानीय व्यक्तिहरुबीच निकै भिडभाड भएको थियो । त्यस्तै यी दुई सवारी साधन ठोक्किएपछि त्यस समयमा सडकमा पनि मानिसहरु हिँडेका र केही भने आफ्नै सवारी साधनमा रहेका थिए । उनीहरु पनि सो दुर्घटनामा परेका थिए ।

उनीहरुलाई नै पछि आगोले छोएको थियो । आगलागी भएको र ठूलो मानवीय क्षति भएको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनालगत्तै घटनास्थलमा धेरै मानिस जलिरहेको देखिएको थियो । घाइते र मृतकमध्ये धेरै दुर्घटनाका बेला घटनास्थलमा रहेका मोटरसाइकल चालक, पैदलयात्री, सडकका व्यापारीलगायत रहेको पनि उनीहरुले जनाएका छन् । सिन्ह्वा

प्रकाशित : २०७८ कार्तिक २१, आईतवार १३:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ