राजमार्गमा कसको खस्यो यतिधेरै रुपयाँ ? टिप्नेहरुको भीड लाग्दा सडक जाम


एउटा बख्तरबन्द गाडीबाट पैसा खस्न थालेपछि नोट टिप्नेको भिड लाग्यो । सामाजिक सञ्जालमा प्रेषित भिडिओहरूमा मानिसहरू गाडीबाट झरेर सडकभरि रहेका नोटहरू हतारहतार टिपिरहेका देखिन्छन् ।

यो घटना अमेरिकाको क्यालिफोर्नियामा पर्ने सान डिएगो काउन्टीको इन्टरस्टेट ५ हाइवेमा भएको हो । प्रहरीका अनुसार चालकहरूले गाडी रोकेर पैसा टिप्न निस्कँदा राजमार्गमा जाम भएको थियो । प्रहरीले केहीलाई गिरफ्तार गरेको र पैसा लिएर गएकाहरूलाई फिर्ता बुझाउन अनुरोध गरिएको छ ।

एउटा गाडीको ढोका बीच सडकमा खुल्दा स्थानीय समयानुसार बिहान सवा नौ बजेतिर सो घटना घटेको बताइएको छ । ‘जेसुकै कारणले भए पनि बख्तरबन्द गाडीबाट पैसा झरिरहेको थियो,’ राजमार्ग गस्ती अधिकृत जीम बेट्टेनकोर्टले भने ।

सडकभरि नोटहरू उडिरहेका थिए । डेमी बाग्बाईले खिचेको भिडिओमा गाडीहरू रोकिएको र मानिसहरूले एक र बीस डलरका नोटहरू टिप्दै रमाइरहेको देखिन्छ । ‘मैले देखेको सबैभन्दा अजबको दृश्य थियो,’ उनले भिडिओमा भनेकी छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार दुई जनालाई पक्राउ गरिएको थियो । राजमार्ग प्रहरीले सङ्घीय जाँच ब्यूरो एफबीआईले जाँच गरिरहेको बताउँदै पैसा फिर्ता दिन आग्रह गरेको छ । बेट्टेनकोर्टले त्यहाँ पैसा टिपेका मानिसहरूमाथि कारबाही हुनसक्ने बताएका छन् ।

‘राजमार्गमा टिभी खस्यो भने तपाईँले टिपेर घर लान सक्नुहुन्न,’ उनले सान डिएगो ट्रिब्यूनलाई बताएका छन् । शुक्रवार दिउँसोसम्म एक दर्जन व्यक्तिले टिपेको नोट फिर्ता गरेको बताइएको छ । मानिसहरूले थुप्रै पैसा ल्याइरहेका छन्,’ राजमार्ग प्रहरीका कुर्टिस मार्टिनले भने । बीबीसी

प्रकाशित : २०७८ मंसिर ५, आईतवार १८:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ