विमानको ल्यान्डिङ गियरमै लुकेर अमेरिका पुगे यी युवक


न्युयोर्क । एक व्यक्ति अमेरिकी एयरलाइन्सको एउटा विमानको ल्यान्डिङ गियरमा बसेर ग्वोमालाबाट अमेरिकाको मियामी पुगेका छन् । शनिबार मियामीमा विमान अवतरण गरेपछि ती व्यक्ति विमानको ल्यान्डिङ गियरमा फेला परे ।

अमेरिकी एयरलाइन्सको उडान नम्बर ११८२ को विमानको ल्यान्डिङ गियरमा बसेर ती व्यक्ति मियामी पुगेका थिए । २६ वर्षका ती व्यक्तिलाई तत्कालै अमेरिकी प्रहरीले नियन्त्रणमा लिएको थियो । ग्वाटेमालाबाट मियामीसम्म करिव साढे दुई घन्टा उनी गियरमा नै बसेका थिए ।

त्यति लामो यात्रामा उनी जीवितै फेला पर्नु दुर्लभ घटना भएको अधिकारीहरुले बताएका छन् । निकै त्रसित मुद्रामा देखिएका उनलाई विमानस्थलबाट सीधै अस्पताल लगिएको थियो । उनी लुकेर अमेरिका प्रवेश गरेको विषयमा सीमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

अमेरिकाको संघीय उड्यन प्रशासन अनुसार सन् १९४७ देखि विभिन्न उडानमा विमानका पाङग्रा वा ल्यान्डिङ गियरमा बसेर अमेरिका जाने क्रममा अहिलेसम्म १ सय जनाको मृत्यु भएको छ । – नेपाल प्रेस

प्रकाशित : २०७८ मंसिर १२, आईतवार १६:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ