साउदीमा अब मास्क नलगाए १ हजार रियाल जरिवाना लाग्ने


दोहा । कोरोना संक्रमण बढेसँगै साउदी अरेबियाले स्वास्थ्य सुरक्षाका मापदण्डमा कडाइ गरेको छ । साउदीको गृह मन्त्रालयले मास्क नलगाउनेलाई १ हजार साउदी रियाल जरिवाना गर्ने निर्णय गरेको हो ।

मन्त्रालयका अनुसार नागरिकले सबै स्थानमा मास्क लगाउनुपर्ने र अन्य गतिविधि तथा कार्यक्रमहरूमा अनिवार्य रुपमा दूरी कायम गर्नुपर्ने छ । यदि नियम उल्लङ्घन गरे पहिलोपटक १ हजार रियाल जरिवाना तिर्नुपर्नेछ भने चेतावनी पनि दिइनेछ ।

गृह मन्त्रालयले आफ्नो ट्वीटर मार्फत मेडिकल वा कपडाको मास्क वा नाक मुख छोप्ने वस्तुको प्रयोग नगर्नु कोरोना भाइरसको रोकथाम र सावधानीविरुद्ध भएको जनाएको छ । पहिलोपटक नियम उल्लङ्घन गरे चेतावनी दिइने र फेरि पनि दोहोर्‍याए अर्कोपटक दोब्बर जरिवाना तिर्नुपर्ने जनाइएको छ । त्यसपछि पनि नियम नमाने १ लाख रियाल जरिवाना हुने मन्त्रालयले जनाएको छ ।

यसअघि, मन्त्रालयले स्थानीय र विश्वव्यापी रूपमा महामारीको अवस्थाको विकासका आधारमा सबै प्रक्रिया र उपायहरू राज्यका सक्षम स्वास्थ्य अधिकारीहरूद्वारा निरन्तर मूल्याङ्कनको अधीनमा रहेको बताएको थियो । मन्त्रालयले सबैले सावधानी र रोकथामका उपायहरू अपनाउन र उनीहरूको सुरक्षाको लागि स्वीकृत प्रोटोकलहरू पालना गर्नुपर्ने आवश्यकतालाई जोड दिएको हो ।

यता, दोहामा रहेको नेपाली दूतावासले पनि कोरोना संक्रमण ह्वात्तै बढेकाले स्वास्थ्य सावधानीका उपाय अपनाउन आग्रह गरेको छ । घर बाहिर निस्कँदा वा कार्यस्थलमा अनिवार्य मास्क लगाउनुपर्ने र डेढ मिटरको दूरी कायम गर्नुपर्ने नियम जारी गरिएको भन्दै नेपाली समुदायलाई पालना गर्न दूतावासले अपील गरेको छ ।

प्रकाशित : २०७८ पुष १७, शनिबार ०७:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ