महिलालाई चाउमिन खुवाई बेहोस पारेर भारतमा बिक्री गरेको खुलासा


काठमाडौं । काममा लगाइदिने बहानामा महिलालाई बेहोस पारी भारतमा पुर्‍याएर बिक्री गरेको खुलासा भएको छ । महिलालाई बिक्री गरेको आरोपमा प्रहरीले नुवाकोटको बालकुमारीका अनिशा भन्ने फूलमाया तामाङलाई पक्राउ गरेको हो ।

उनले पोखरामा घरायसी काममा राम्रो कमाइ हुन्छ भनी प्रलोभनमा पारी भारत पुर्‍याएर बेचेको ब्युरोका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए । सुरुमा उनले चाउमिनमा बेहोस हुने औषधि मिसाएर बेहोस पारी लगेका र होस खुल्न लाग्दा पुनः कोकमा औषधि मिसाएर बेहोस बनाउँदै भारत पुर्‍याएको पीडितको बयान छ ।

उनले पीडितका दिदीबहिनीलाई नै यसरी पुर्‍याएको पनि खुल्न आएको छ । उनीहरुलाई छट्टाछुट्टै कोठीमा पुर्‍याएर बिक्री गरेको ब्युरोको दाबी छ । भारतको कोठी सञ्चालकले उनलाई तीन लाखमा किनेको भनी गलत काममा लगाएकाे पीडितको जाहेरीमा उल्लेख छ ।

उनीहरुलाई भारतको मुम्बई, कोलकाता, बिहारलगायत विभिन्न क्षेत्रमा पुर्‍याएर गलत काममा लगाएको पाइएको छ । एकदिन बजारमा खाजा लिन पठाएको मौका पारेर उनी त्यहाँबाट भाग्न सफल भएको अवस्थामा भारतीय प्रहरीले उद्धार गरी नेपाल पठाइदिएको पीडितको भनाइ छ ।

पीडितको जाहेरीका आधारमा खोजी गर्दा काठमाडौँको बूढानीलकण्ठ नगरपालिका १० कपनबाट तामाङ पक्राउ परेको प्रहरीले जनाएको छ । उनीमाथि मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ बमोजिम मुद्दा अघि बढाइएको प्रहरी उपरीक्षक धमलाले जानकारी दिए । रासस

प्रकाशित : २०७८ पुष २१, बुधबार १३:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ