भारतमा २० मिनेटसम्म मोदीको बाटो छेकेपछि…


एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुधबार एउटा कार्यक्रममा जाने बाटो नपाएपछि फर्किएका छन् । समाचार पत्र द हिन्दुका अनुसार मोदी बुधबार पन्जाब राज्यमा गएका थिए ।

केही महिनापछि विधान सभा चुनाव हुन लागेको पन्जाबको राष्ट्रिय शहिद मेमोरियल जान लाग्दा उनलाई अवरोध भएको हो । मोदी बुधबार बिहान बाथिन्डा विमानस्थलमा पुगेका थिए। त्यहाँबाट उनी हेलिकप्टरमा राष्ट्रिय शहिद मेमोरियल जाने कार्यक्रम थियो ।

मौसम खराब भएपछि हेलिकप्टर उड्न सकेन । मौसम खुल्ने आशमा मोदी २० मिनेट जति कुरे । तैपनि मौसममा सुधार नभएपछि उनले झन्डै दुई घन्टाको सडक मार्गबाट जाने निर्णय गरे ।

गन्तब्यमा पुग्न झन्डै ३० किलोमिटर बाँकी रहँदा भने मोदीको सवारी अघि बढ्न सकेन । मोदी भ्रमणको विरोध गरिरहेका किसानहरूले आन्दोलन गरेर सडक बन्द गरेका थिए । मोदीको सवारी १५/२० मिनेट त्यहाँ रोकियो तर बाटो खुल्ने अवस्था नभएपछि उनी कार्यक्रम रद्द गरेर फर्किए ।

पन्जाबका किसानले मोदी सरकारले ल्याएका कृषिसम्बन्धी तीन वटा कानुनको चर्को विरोध र आन्दोलन गरेका थिए । उनीहरूले नै आज मोदीको बाटो रोकेका हुन् । भारतको केन्द्रीय सरकारले भने मोदीको सुरक्षामा पन्जाब प्रदेश सरकारले हेलचक्र्याइँ गरेको भन्दै घटनाको विस्तृत विवरण मागेको छ ।

मोदीले सडकबाट यात्रा गर्न लागेकोबारे प्रोटोकलअनुसार सबै जानकारी दिँदा पनि बाटोको अवरोध हटाउन नसकेको भन्दै केन्द्रीय गृह मन्त्रालयले प्रदेश सरकारसँग असन्तुष्टि पोखेको हो । पन्जाब कंग्रेस आई नेतृत्वको सरकार छ ।

मोदी पूर्वनिर्धारित कार्यक्रममा जान नसकेर फर्किएपछि अहिले यो विषयले भारत चर्चा पाएको छ । सत्तारूढ भारतीय कांग्रेस पार्टीका नेताहरूले प्रदेश सरकार चलाइरहेको कंग्रेस आईको आलोचना गरेका छन् ।

प्रकाशित : २०७८ पुष २१, बुधबार १८:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ