कतारमा बढ्यो कोरोना : स्वास्थ्य मापदण्ड पालना नगर्ने ४८२ जनामाथि मुद्दा चलाइयो


दोहा । नेपालीको प्रमुख श्रम गन्तब्य रहेको कतारमा पछिल्लो समय कोरोना संक्रमणले उग्ररूप लिएको छ ।

कतारको स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार ३ हजार ८१६ नयाँ संक्रमित थपिएका छन् । तीमध्ये ३ हजार ५ सय १ समुदायभित्रकै संक्रमित हुन् भने ३ सय १५ विदेशबाट फर्केका यात्रु हुन् । योसँगै कतारमा संक्रमितको संख्या ३ लाख ७ हजार ५६ पुगेको छ ।

यस अवधिमा ३ हजार ३८६ जना संक्रिमत निको भएका छन् । योसंगै निको हुनेको संख्या पनि २ लाख ६४ हजार २८२ पुगेको मन्त्रालयले जनाएको छ । यस अवधिमा ७२,८५ र ८९ बर्षीय नागरिकको मृत्यु भएसँगै मृतकको संख्या पनि ६३० पुगेको मन्त्रालयले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म कतारमा सक्रिय संक्रमितको संख्या ४२ हजार १४४ रहेको छ भने ५९२ जना यहाँको विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् । तीमध्ये ८८ जनाको आईसीयूमा उपचार भैरहेको जनाएको छ ।

४ सय ८२ जना कारबाहीमा
संक्रमण तीव्र रुपमा फैलिएपछि कतारको आन्तरिक मन्त्रालयले स्वास्थ्य मापदण्ड पालना नगर्नेहरु विरुद्धको कारबाहीको दायरा बढाएको छ ।

मन्त्रालयका अनुसार मंगलबार मात्र कोभिड-१९ सम्बन्धि सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने ४ सय ८२ जनालाई कारबाही गरिएको जनाएको छ ।

जसअन्तर्गत मास्क नलगाएकोमा ३ सय ६६ जना, सुरक्षित शारीरिक दूरी कायम नगरेकोमा १ सय ८ जना र मोबाइलमा एहतेराज एप इन्स्टल नगरेकोमा ८ जनालाई मुद्दा चलाइएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : २०७८ माघ ५, बुधबार १५:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ