अमेरिका छिर्न खोज्ने छोरा-छोरीसहित श्रीमान-श्रीमती मृत फेला


एजेन्सी । अमेरिका र क्यानडाको सीमानामा एक भारतीय नागरिकको परिवार नै मृत फेला परेका छन् ।

अमेरिकासँग सीमा जोडिएको क्यानाडाको मनिटोबा सहरमा चिसोका कारण ३९ वर्षीय जगदीश पटेल, ३७ वर्षीया वैशालीबेन पटेल र उनीहरूका छोराछोरी ११ वर्षीया छोरी विहांगी र तीन वर्षीय छोरा धार्मिकको मृत्यु भएको हो क्यानडाका अधिकारीले जनाएका छन् ।

क्यानडाका अधिकारीहरूले चार भारतीय परिवारका सदस्यहरूको मृत्यु मानव तस्करीसँग जोडिएको बताएका हुन् ।
क्यानडाको मनिटोबा नजिकै अत्यधिक चिसोका कारण चारैजनाको मृत्यु भएको हो । परिवार पैदलै अमेरिका जान खोजेको रात माइनस ३५ डिग्री सेल्सियस तापक्रम पुगेको थियो ।

पटेल परिवार पहिलो पटक जनवरी १२ मा क्यानाडाको टोरन्टो शहरमा विमानबाट पुगेको थियो । त्यसपछि उनीहरु पश्चिमी क्यानडाको मनिटोबामा गएका थिए । जनवरी १८ तिर सीमावर्ती शहर इमर्सनमा गएका थिए । उनीहरुको शव भोलिपल्ट राति भेटिएको थियो ।

क्यानाडा अमेरिका सीमा नजिक इमर्सनमा कुनै पनि सवारीसाधन नभेटिएपछि उनीहरुलाई कसैले कारमा लगेर त्यहाँ छाडेको जनाइएको छ । त्यसपछि उनीहरु त्यहाँबाट पैदल हिँडेर अमेरिका छिर्न खोज्दा मृत्यु भएको हो ।

प्रकाशित : २०७८ माघ १६, आईतवार ०९:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ