दक्षिणपूर्वी युक्रेनमा रुसी सैनिक तैनाथ, रुसद्वारा बिद्रोहीलाई औपचारिक साथ


रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना सैनिकलाई रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिण पूर्वी क्षेत्रमा प्रवेश गर्न आदेश दिएका छन् ।

उनले रुसको साथ पाएका बिद्रोहीहरुको नियन्त्रणमा रहेको क्षेत्रको सार्वभौमिकता घोषणा गर्दै आफ्ना सैनिकलाई प्रवेश गर्न आदेश दिएका हुन् ।

पुटिनले रुसी सैनिकले दक्षिणपूर्वी युक्रेनमा ‘शान्तिस्थापना’ को काम गर्ने दाबी गरेका छन् । पुटिनको आदेशलाई जारी युक्रेन संकट बढाउन सहयोग गरेको ठानिएको छ ।

पश्चिमा राष्ट्रहरुले रुसमाथि कडा प्रतिबन्ध लगाउने तयारी गरेका छन् । यस्तै युक्रेनी सैनिकले जवाफी कारवाही गर्ने सम्भावना पनि छ । रुसी राष्ट्रपतिले दक्षिणपूर्वी युक्रेनमा बिखण्डनकारी समूहका नेताहरुसँग मंगलबार सन्धिमा हस्ताक्षर गरेका हुन् ।

सन्धिको तेस्रो बुँदामा दक्षिणपूर्वी युक्रेनमा रुसी आर्मीलाई ‘शान्ति स्थापना’ को जिम्मेवारी दिने उल्लेख छ । युक्रेनी बिद्रोही र रुसी राष्ट्रपतिले गरेको सन्धिनमा दक्षिणपूर्वी युक्रेनको लुहान्स्क र डोनेट्स्कलाई ‘लुहान्स्क एण्ड डोनेट्स्क पिपुल्स रिपब्लिक’ भनिएको छ ।

रुसले बिद्रोहीको दाबी स्वीकार गरेर सो क्षेत्रलाई छुट्टै सार्वभौम क्षेत्र मानेको छ । तर युक्रेन र अधिकांश विश्वले सो क्षेत्रलाई युक्रेनको सार्वभौम क्षेत्र मान्दै आएको छ ।

सोमबार युक्रेनी अधिकारीले रुसी सैनिक बिद्रोही इलाकामा प्रवेश गरिसकेको हुन सक्ने बताएका थिए । स्थानीय बासिन्दाले डोनेट्स्कमा रुसी सैनिकका सवारी साधान चलेको देखेका थिए ।

रुसले बिद्रोहीलाई स्वीकार गरी आफ्ना सैनिक तैनाथ गर्ने आदेश दिएपछि युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले टेलिभिजन मार्फत सम्बोधन गरेर कडा निन्दा गरेका छन् ।

रुसले शान्ति वार्ता कमजोर बनाएको बताएका छन् । उनले रुसले दक्षिणपूर्वी युक्रेनको बिद्रोही नियन्त्रित क्षेत्रलाई दिएको मान्यता खारेज गरेका छन् ।

युक्रेन शान्ति तथा कूटनीतिमा प्रतिबद्ध रहेको उनले बताएका छन् । यस्तै उनले आफ्ना सहयोगीबाट स्पष्ट र प्रभावकारी कदमको अपेक्षा गरिएको बताए । उनले आफूहरु नडराएको पनि बताएका छन् ।

पुटिनले बिद्रोही नियन्त्रित क्षेत्रलाई स्वतन्त्र राज्यका रुपमा स्वीकार गर्ने घोषणा गरेको केही घण्टापछि सैनिक पनि पठाएको खुलेको हो । पुटिनले टेलिभिजन सम्बोधन मार्फत युक्रेनी बिद्रोहीको स्वतन्त्र अस्तित्व स्वीकार गरेका हुन् ।

बिद्रोही क्षेत्रको स्वतन्त्र अस्तित्व स्वीकार गरेको रुसले युक्रेनमाथि सैन्य आक्रमणको सम्भावना कायम छ । उसले युक्रेनसँगको सीमा क्षेत्रमा करिब एक लाख ९० हजार सैनिक तैनाथ गरेको छ ।

अमेरिकासहितका पश्चिमा राष्ट्रले सैनिक तैनाथीलाई रुसी आक्रमणको तयारी भनेका छन् । बिद्रोहीको अस्तित्व स्वीकार गरी सैनिक पठाउने निर्णयको अमेरिकासहितका पश्चिमा राष्ट्रले गम्भीर निन्दा गरेका छन् । उनीहरुले रुसमाथि प्रतिबन्धको तयारी गरेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसको निन्दा गर्दै युक्रेनका राष्ट्रपतिसँग तत्काल निर्णायक प्रतिक्रिया दिने वाचा गरेका छन् ।

बेलायत र युरोपियन युनियनले तत्काल रुसमाथि प्रतिबन्ध लगाउने सम्बन्धमा सहमति गरेका छन् । जर्मनी र फ्रान्सले रुसमाथि अन्तर्राष्ट्रिय कानुनको उल्लेख गरेका छन् । क्यानडाले पनि रुसकाे निन्दा गर्दै प्रतिबन्धकाे तयारी गरेकाे छ ।

यसैबीच रुसले बिद्रोहीको अस्तित्व स्वीकार गरी आफ्नो देशमा सैनिक पठाउने निर्णय गर्नुलाई गैरकानुनी भन्दै युक्रेनले संयुक्त राष्ट्रसंघसँग तत्काल सुरक्षा परिषदको बैठक बोलाउन आग्रह गरेको छ ।

युक्रेनको आग्रह अनुसार मंगलबार नै सुरक्षा परिषदको बैठक बस्ने भएको छ । न्यूयोर्कमा बस्ने बैठकमा रुसको गतिविधिपछिको अवस्था र सम्भावित कदमबारे छलफल हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित : २०७८ फाल्गुन १०, मंगलवार ०८:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ