स्याटेलाइट तस्बिरमा देखियो रुसी सैनिकको तैनाथी


युक्रेनका दुई बिद्रोही नियन्त्रित क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता प्रदान गरेको रुसले बेलारुसमा आफ्ना सैनिकको तैनाथी थप बढाएको छ ।

युक्रेनसँग सीमा जोडिएको बेलारुसी क्षेत्रमा युक्रेनले थप सैनिक तैनाथ गरेको हो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार युक्रेनको दक्षिणपूर्वी क्षेत्रका डोनेट्स्क र लुहान्स्कलाई स्वतन्त्र राज्यको मान्यता प्रदान गरे ।

त्यहाँ ‘शान्ति स्थापना’ का लागि रुसी सैनिक तैनाथीको आदेश दिएका थिए । पुटिनको सो निर्णयको चौतर्फी निन्दा भइरहेको छ । अमेरिका, बेलायत, क्यानडासहितका पश्चिमा राष्ट्रले प्रतिबन्धको घोषणा गरेका छन् ।

रुसी गतिविधिलाई युक्रेनमाथि आक्रमणको पहिलो चरणका रुपमा अमेरिकासहितका देशले ब्याख्या गरेका छन् । यहि परिवेशमा रुसले युक्रेनसँगको सीमा क्षेत्रमा पर्ने बेलारुसमा आफ्ना थप सैनिक पठाएको स्याटेलाइट तस्बिरमा देखिने द गार्डियनले जनाएको छ ।

बेलारुसको दक्षिणी क्षेत्रमा रुसले एक सय भन्दा बढी सैन्य गाडी तथा दर्जनौँ टेन्टहरु स्थापित गरेको खबरमा उल्लेख छ । रुसले युक्रेनसँगको सीमा क्षेत्रमा करिब एक लाख ९० हजार सैनिक तैनाथ गरेको छ।

संकट समाधानका लागि कूटनीतिक वार्ताको तयारी भइरहँदा रुसले दुई क्षेत्रलाई स्वतन्त्र मान्यता दिने र सैनिक पठाउने निर्णय गरेसँगै संकट थप गहिरिएको हो । यसले अमेरिकी विदेशमन्त्री र रुसी विदेशमन्त्रीबीचको वार्ता पनि तत्कालका लागि टरेको छ ।

प्रकाशित : २०७८ फाल्गुन ११, बुधबार ०७:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ